नगेन्द्र के सि /गैंडहवा न्युज
रुपन्देहीको शुद्धोदन गाउँपालिका–४, फर्साटिकरस्थित जीविका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। शुद्धोदन–४ स्थित रिद्धिसिद्धि पार्टी प्यालेसको सभाहलमा आयोजित साधारणसभाको उद्घाटन समारोह संस्थाका अध्यक्ष रामप्रसाद गैरेको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
साधारणसभाको उद्घाटन प्रमुख अतिथि बस्यालले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बस्यालले सहकारी संस्थाहरू स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासका महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले सदस्यहरूको आर्थिक अवस्था सुधार गर्न सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने उल्लेख गर्दै पारदर्शिता, सुशासन र सदस्यप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष केशवप्रसाद अधिकारीले सहकारी संस्थाहरूले स्थानीय नागरिकको आर्थिक जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सदस्यहरूको हितलाई केन्द्रमा राखेर विश्वासिलो र प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
संस्थाका अध्यक्ष रामप्रसाद गैरेले सहकारीले किसानहरूको हितलाई प्राथमिकतामा राख्दै कृषि क्षेत्रको विकास, उत्पादन वृद्धि तथा किसानलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले किसानलाई आवश्यक सहयोग, बचत गर्ने बानीको विकास तथा उत्पादनमूलक क्षेत्रमा लगानीका अवसर सिर्जना गर्न संस्था निरन्तर क्रियाशील रहेको जानकारी दिनुभयो।
साथै, संस्थालाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै आगामी दिनमा कृषि तथा अन्य उत्पादनमूलक क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साधारणसभामा अध्यक्ष रामप्रसाद गैरेद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, सचिव रामविलास गुप्ताद्वारा प्रस्तुत सचिवको प्रतिवेदन, कोषाध्यक्ष हृदयेश कुमार बनियाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा लेखापरीक्षक दिनेश गैरेद्वारा प्रस्तुत लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएका थिए।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष दामोदर पंगेनी, पूर्वअध्यक्ष नन्दबहादुर क्षेत्रीलगायतले संस्थाको प्रगति, निरन्तरता र सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
संस्थाका उपाध्यक्ष आशिष केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सचिव रामविलास गुप्ताको सञ्चालनमा सम्पन्न भएको थियो।
जीविका बहुउद्देश्यीय सहकारीको १७औँ वार्षिक साधारणसभा सम्पन्न

