दशौँ लुम्बिनी राष्ट्रिय महोत्सव मंसिर १७ देखि भैरहवामा

गैंडहवा न्युज
लुम्बिनी, असोज २७ गते /रुपन्देहीको भैरहवामा ‘पर्यटन, उद्योग, कृषि र व्यापार राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ दशौँ लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना हुने भएको छ। सिद्धार्थनगर उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव आगामी मंसिर १७ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने भएको हो।
महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले स्वदेशी गुणस्तरीय वस्तु तथा सेवाको उपभोगप्रति उपभोक्तालाई जागरुक बनाउनुका साथै सीमावर्ती बजारमा पाइने समान प्रकृतिका वस्तुको तुलनात्मक मूल्यबारे जानकारी गराउनु महोत्सवको प्रमुख उद्देश्य रहेको बताए।
उनका अनुसार महोत्सवले उद्योगी तथा व्यवसायीको पेसागत हकहित संरक्षण गर्दै उद्योग तथा व्यापारको विकास, विस्तार र आर्थिक गतिविधि वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
महोत्सवमा स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी र विभिन्न व्यापारिक प्रतिष्ठानका गरी करिब ३०० स्टल रहनेछन्। महोत्सवमा स्थानीय उत्पादन, औद्योगिक वस्तु तथा सेवाको प्रदर्शनी र व्यापारिक गतिविधिलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ।
महोत्सव अवलोकन गर्न आउने दर्शक तथा पर्यटकलाई शान्तिका अग्रदूत गौतम बुद्धसँग सम्बन्धित ऐतिहासिक, पुरातात्त्विक तथा पर्यटकीय स्थलहरू तिलौराकोट, देवदह र रामग्रामको भ्रमण गराउने व्यवस्था मिलाइने अध्यक्ष आचार्यले जानकारी दिए।
महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि गर्नुका साथै लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।
त्यसैगरी, यस क्षेत्रका विभिन्न जातजाति, भाषाभाषीका कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा समेत महोत्सवले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
महोत्सवमार्फत पर्यटन, कृषि, उद्योग र व्यापारलाई एकै ठाउँमा जोड्दै स्थानीय उत्पादनको प्रवर्द्धन तथा आर्थिक समृद्धिमा टेवा पुर्‍याउने लक्ष्य आयोजकले लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *