गैंडहवा न्युज | रुपन्देही
रुपन्देहीको शुद्धोदन गाउँपालिका–४, फर्साटिकरस्थित फर्साटिकर सामुदायिक सिकाइ केन्द्रको १२औँ साधारणसभा शुक्रबार रिद्धिसिद्धि पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष रामेश्वरी सिंहको अध्यक्षता तथा शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको उद्घाटन प्रमुख अतिथि बस्यालले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बस्यालले सामुदायिक सिकाइ केन्द्रले स्थानीयस्तरमा शैक्षिक उन्नयन तथा सामुदायिक विकासका क्षेत्रमा उल्लेखनीय काम गरेको प्रतिवेदनबाट जानकारी पाएको बताउनुभयो। सीमित स्रोतसाधनका बाबजुद संस्थाले शिक्षा र समुदायको हितमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि रचनात्मक तथा सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो। साथै, संस्थाको विकासका लागि गाउँपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले विभिन्न चुनौतीका बाबजुद संस्थालाई निरन्तरता दिँदै जीवन्त राख्न पदाधिकारी तथा सदस्यहरूले गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो। संस्थाको निरन्तरता र प्रगतिका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष केशवप्रसाद अधिकारीले सामुदायिक सिकाइ केन्द्र वडा नम्बर ३ र ४ का महिला तथा बालबालिकाका लागि उपयोगी संस्था रहेको बताउनुभयो। संस्थाले समुदायमा पुर्याएको योगदानको कदर गर्दै वडा नम्बर ४ कार्यालयबाट हुने सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
साधारणसभामा संस्थाका अध्यक्ष रामेश्वरी सिंहले वार्षिक प्रगति प्रतिवेदन तथा संस्थाका सदस्य रीता अर्यालले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारणसभाले प्रस्तुत दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य रुक्मणी चौधरी, शुद्धोदन–३ का वडा सदस्य णमकुमारी पंगेनी, संस्थापक अध्यक्ष हिमबहादुर केसी, संस्थाका पूर्व सदस्य रुकमागत खनाल तथा निवर्तमान अध्यक्ष भीमबहादुर रानालगायतले संस्थाको प्रगति, शैक्षिक विकास र सामुदायिक सहभागिताका विषयमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
संस्थाका उपाध्यक्ष नवराज आचार्यको स्वागत मन्तव्य तथा सामाजिक परिचालिका अञ्जना रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
फर्साटिकर सामुदायिक सिकाइ केन्द्रको १२औँ साधारणसभा सम्पन्न

