जापानमा रहेका व्यक्तिका नाममा बुटवलबाट लाइसेन्स, परीक्षा नै नदिई १३ जनालाई अनुमतिपत्र तत्कालीन कार्यालय प्रमुख र प्रहरी अधिकारीसहित सात भ्रष्टाचार मुद्दा

गैंडहवा न्युज
बुटवल । जापानमा रहेका व्यक्तिका नाममा बुटवलबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी भएको तथ्य खुलेको छ। यातायात व्यवस्था कार्यालय, रुपन्देहीमा भएको लाइसेन्स वितरणसम्बन्धी अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुख र प्रहरी अधिकारीसहित सात जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारको अनुसन्धानअनुसार २०७७ मंसिर २५ गते वैदेशिक रोजगारीका लागि जापान गएका एक व्यक्ति २०८३ भदौ ८ गतेसम्म नेपाल फर्किएको अभिलेख छैन। तर, उनलाई नेपालमै लिखित तथा प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको देखाएर २०७८ कात्तिक १७ गते जे–१ वर्गको सवारी चालक अनुमतिपत्र जारी गरिएको पाइएको छ।
त्यस्तै, लिखित परीक्षामा अनुत्तीर्ण भएका सात जनाको नतिजा फेरबदल गरी उत्तीर्ण बनाइएको र परीक्षा नै नदिएका पाँच जनालाई समेत उत्तीर्ण देखाएर सवारी चालक अनुमतिपत्र उपलब्ध गराइएको अख्तियारको अनुसन्धानमा खुलेको छ।
यसरी जापानमा रहेका एक व्यक्तिसहित कुल १३ जनालाई गैरकानुनी रूपमा सवारी चालक अनुमतिपत्र जारी गरिएको अख्तियारको दाबी छ।
उक्त प्रकरणमा तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित अन्य छ जना गरी सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
सार्वजनिक सेवामा यस्तो अनियमितताले यातायात प्रशासनको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *