गैंडहवा न्युज
कपिलवस्तु । नेपाल प्रहरी प्रधान कार्यालय, अन्वेषण, योजना तथा विकास निर्देशनालय र वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तुको आयोजनामा तथा UNOPS Nepal (SJP) को सहकार्यमा सञ्चालित SARA मोडेलअन्तर्गत अन्तिम चरणको मूल्याङ्कन कार्यक्रम सम्पन्न भएको छ।
शिवराज नगरपालिका–१, उमरीस्थित थारू संग्रहालय परिसरमा आयोजित कार्यक्रम वडा अध्यक्ष खिमविक्रम केसीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, अन्वेषण, योजना तथा विकास निर्देशनालयका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारी, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी, पूर्व प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्र कुमार बस्याल, वडा प्रहरी कार्यालय चन्द्रौटाका कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष घिमिरेलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा लागूऔषध दुर्व्यसन, बालविवाह, चोरी–डकैती, देहव्यापारमा आधारित यौनजन्य गतिविधि तथा सडक दुर्घटनालगायतका स्थानीय समस्याहरू पहिचान गर्दै तिनको न्यूनीकरणका लागि गरिएका प्रयासहरूको मूल्याङ्कन गरिएको थियो।
कार्यक्रममा सहभागी स्थानीयवासीले SARA मोडेलअन्तर्गत सञ्चालन भएका गतिविधिको प्रभावकारिता, सामाजिक दायित्व तथा समुदायमा परेको प्रभावबारे अन्तरक्रियात्मक छलफल गरेका थिए।
छलफलका क्रममा सहभागीहरूले कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै स्थानीय समस्याको समाधान, शान्ति सुरक्षा र सामाजिक सचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।
समुदायमा आधारित प्रहरी साझेदारीमार्फत स्थानीय समस्या पहिचान, समाधान र सामाजिक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
शिवराज–१ मा SARA मोडेलको अन्तिम चरण मूल्याङ्कन कार्यक्रम सम्पन्न

