खातुन हत्या प्रकरणमा प्रहरीको सफलता, चार जना पक्राउ

गैंडहवा न्युज
लुम्बिनी । रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ की ४२ वर्षीया जुबेदा खातुनको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। धानखेतमा मृत अवस्थामा फेला परेकी खातुनको घटनाबारे अनुसन्धान अघि बढाउँदै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएपछि घटनाले नयाँ मोड लिएको छ।
गत कात्तिक १२ गते कोटहीमाई गाउँपालिका–७ स्थित धानखेतमा खातुनको शव फेला परेको थियो। शव फेला परेपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा सोमबार चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेकाहरूको नाम तत्काल सार्वजनिक गर्न नमिल्ने भएकाले मंगलबार पत्रकार सम्मेलनमार्फत विस्तृत विवरण सार्वजनिक गरिनेछ।
प्रहरी निरीक्षक साहले पक्राउ परेकाहरूले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको बताउनुभयो। मृतक खातुनको शरीरबाट लुटिएका गहनाको खरिद–बिक्री तथा घटनासँग जोडिएका अन्य पक्षबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।
घटनामा पक्राउ परेका व्यक्तिहरूको पहिचान, हत्याको कारण र घटनाको थप विवरण प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *