गैंडहवा न्युज ,काठमाडौं । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारले आफूलाई पदबाट हटाउने निर्णय गरेपछि त्यसविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन्।
सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्कीले न्यायका लागि सर्वोच्च अदालत जाने तयारी गरेका छन्। कार्कीनिकट स्रोतका अनुसार उनले सरकारको निर्णयलाई अन्यायपूर्ण र पूर्वाग्रही भन्दै कानुनी उपचार खोज्ने निष्कर्ष निकालेका हुन्।
‘यो सरकारले पहिलेदेखि नै मलाई काम गर्न दिएको थिएन, निरन्तर अप्ठ्यारो पारिरहेको थियो। अब म यो अन्यायपूर्ण निर्णयविरुद्ध कानुनी लडाइँमा जान्छु,’ कार्कीको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाउँदै एआईजी मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो। कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा जिम्मेवारी दिइएको बताइएको छ।
आफ्नो पदावधि बाँकी छँदै जिम्मेवारीबाट हटाइएको भन्दै कार्की सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन्।
सरकारको निर्णयविरुद्ध कार्कीले अदालतबाट कस्तो कानुनी उपचार खोज्छन् र सर्वोच्च अदालतले यस विषयमा कस्तो निर्णय गर्छ भन्ने विषयले अहिले प्रहरी संगठनदेखि राजनीतिक वृत्तसम्म चासो बढाएको छ।
आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीको प्रतिक्रिया ‘अन्यायपूर्ण निर्णयविरुद्ध कानुनी लडाइँमा जान्छु’

