गैंडहवा न्युज, लुम्बिनी ।
कात्तिक १८ गते बुधबार लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँको अध्यक्षतामा लुम्बिनी क्षेत्रका नागरिक समाज, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिमा महत्वपूर्ण बैठक सम्पन्न भएको छ।
बैठकमा लुम्बिनी विकास कोषमा देखिएका विवाद, उपाध्यक्ष नियुक्ति, सदस्य सचिव तथा परिषद् सदस्यहरूको नियुक्ति प्रक्रियाको पारदर्शिता र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको सञ्चालनका सम्भावना तथा चुनौतीलगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकमा लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा आनी छोइङ डोल्माको नियुक्ति, नागरिकता तथा अन्य विवादहरू टुंगो नलागेको विषय र सदस्य सचिव सन्तोष पाण्डेसहित अन्य व्यक्तिहरूको नियुक्ति प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाइएको थियो।
त्यसैगरी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको प्रभावकारी सञ्चालन, लुम्बिनी क्षेत्रको समग्र विकास तथा स्थानीय सरोकारवालाको सहभागिताका विषयमा समेत छलफल गरिएको थियो।
बैठकमा सहभागी सरोकारवालाहरूले लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै विकास कोषका गतिविधि पारदर्शी, जवाफदेही र स्थानीय जनताको भावनाअनुरूप हुनुपर्नेमा जोड दिएका छन्।
बैठकबाट विभिन्न महत्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ। बैठकले लुम्बिनीको संरक्षण, विकास तथा स्थानीय सरोकारवालाको अधिकारका विषयमा निरन्तर आवाज उठाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
लुम्बिनी बचाउ महाअभियानको बैठक सम्पन्न, विकास कोषका गतिविधि पारदर्शी बनाउन माग

