रुपन्देहीमा प्रहरीले अवैध अनलाइन सट्टेवाजीमा संलग्न २० जना पक्राउ

दीपक जैसवाल /लुम्बिनी ,चैत २९गते
रुपन्देहीका विभिन्न स्थानमा सञ्चालन भइरहेको अवैध अनलाइन सट्टेवाजी (जुवा) मा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको टोलीले छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिँदै ठूलो परिमाणमा नगद तथा उपकरण बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार चैत १९ गते तिलोत्तमा नगरपालिका–७ बाट ९ जना भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेहरू उत्तर प्रदेश, बिहार र पश्चिम बंगालका विभिन्न जिल्लाका २० देखि ३१ वर्ष उमेर समूहका रहेका छन्। उनीहरूको साथबाट ३ थान ल्यापटप, २० थान मोबाइल र ५ थान हिसाब राख्ने रजिस्टर बरामद गरिएको छ।

यस्तै, चैत २७ गते तिलोत्तमा नगरपालिका–१५ कोटिहवाबाट थप ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा अधिकांश भारतीय नागरिक रहेका छन् भने रुपन्देही ओमसतिया गाउँपालिका–१ का एक जना र सुर्खेत घर भई हाल तिलोत्तमामा बसोबास गर्दै आएकी एक महिलासमेत संलग्न रहेको खुलेको छ।

प्रहरीले उक्त स्थानबाट २३ बन्डल भारतीय बैंकका चेकबुक, २५ थान एटीएम कार्ड, नेपाली नगद ९१ हजार ७२५ रुपैयाँ, १ थान भारतीय पासपोर्ट, ३ थान स्ट्याम्प छाप, ३ थान पेन ड्राइभ, २१ थान मोबाइल, ६ थान ल्यापटप, ३० थान आधार कार्ड तथा ZTE कम्पनीको १ थान राउटर बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरू अनलाइन सट्टेवाजी सञ्चालन तथा व्यवस्थापनमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *