लुम्बिनी बौद्ध विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा.माणिकरत्न शाक्य नियुक्त

गैंडहवा न्युज
लुम्बिनी , जेठ १गते /लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व डिन तथा सह–प्राध्यापक डा. माणिकरत्न शाक्यलाई विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी तोकिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपकुलपतिको पद रिक्त रहेको अवस्थामा विश्वविद्यालयको दैनिक प्रशासनिक तथा प्राज्ञिक कार्य सञ्चालनका लागि उहाँलाई उक्त जिम्मेवारी दिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी पत्रअनुसार प्रधानमन्त्री तथा कुलपतिस्तरको २०८३ जेठ ३० गतेको निर्णय बमोजिम डा. शाक्यलाई उपकुलपतिको जिम्मेवारी तोकिएको उल्लेख गरिएको छ ।

विश्वविद्यालयको नियमित कामकारबाही प्रभावकारी रूपमा सञ्चालन गर्न उक्त निर्णय गरिएको मन्त्रालयले जनाएको छ । सरकारले अध्यादेश ल्याएपछि विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएको थियो । त्यसपछि विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक गतिविधिलाई निरन्तरता दिन डा. शाक्यलाई जिम्मेवारी दिइएको हो ।
डा. शाक्य लामो समयदेखि बौद्ध अध्ययन, अनुसन्धान तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । उहाँ विश्वविद्यालयका विभिन्न शैक्षिक तथा अनुसन्धानात्मक गतिविधिमा संलग्न रहँदै आउनुभएको थियो। यसअघि पनि विश्वविद्यालयका विभिन्न कार्यक्रममा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

नेपालकै एकमात्र बौद्ध विश्वविद्यालयका रूपमा परिचित लुम्बिनी बौद्ध विश्वविद्यालयमा बौद्ध दर्शन, संस्कृति, भाषा तथा अनुसन्धानसम्बन्धी अध्ययन–अध्यापन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *