पहिले आफ्नैबाट” — कार्यवाहक मेयरले खाली गराइन् अतिक्रमित सार्वजनिक जग्गा

गैंडहवा न्युज

दिनेश प्रसाद लोध, लुम्बिनी
रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका मा सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानले नयाँ मोड लिएको छ। कार्यवाहक मेयर कल्पना हरिजन ले आफ्नै निवाससँग जोडिएको सार्वजनिक जग्गा खाली गराउँदै “पहिले आफ्नैबाट” भन्ने सन्देश दिएकी छन्।
नगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण तथा अतिक्रमण नियन्त्रण अभियानलाई तीव्र बनाइरहेका बेला कार्यवाहक मेयर हरिजन स्वयंले आफ्नो घरसँग जोडिएको सार्वजनिक क्षेत्रमा बनाएको घर हटाउन डोजर प्रयोग गरेपछि स्थानीय तहमा यसको व्यापक चर्चा सुरु भएको छ। नगरपालिकाको डोजर प्रयोग गरी गरिएको उक्त कार्यलाई कतिपयले सकारात्मक उदाहरणको रूपमा लिएका छन् भने कतिपयले यसलाई ढिलो भए पनि सही कदम भएको प्रतिक्रिया दिएका छन्।
हालै नेपाल सरकारको मन्त्रिपरिषद्ले देशभर सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको थियो। सोही निर्णयपछि विभिन्न स्थानीय तहहरूले सार्वजनिक जमिन, सडक किनार, नाला, पोखरी तथा खुला क्षेत्रमाथिको अतिक्रमण हटाउन प्रक्रिया सुरु गरेका छन्। लुम्बिनी साँस्कृतिक नगरपालिकाले पनि नगरभित्र रहेका सार्वजनिक जग्गाको संरक्षणलाई प्राथमिकतामा राख्दै अभियान सुरु गरेको जनाएको छ।
तर अभियान सुरु भएसँगै सामाजिक सञ्जालमा कार्यवाहक मेयरकै घर सार्वजनिक जग्गामा बनेको भन्ने आरोपसहित आलोचना हुन थालेको थियो। स्थानीय बासिन्दा तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले “अरूलाई हटाउनुअघि आफ्नैबाट सुरु गर्नुपर्छ” भन्दै टिप्पणी गरेका थिए। केहीले नगर नेतृत्वले उदाहरण प्रस्तुत गर्नुपर्ने धारणा राखेका थिए।
यही दबाब र जनचासोबीच कार्यवाहक मेयर हरिजनले आफ्नै घरले ओगटेको भनिएको सार्वजनिक क्षेत्र खाली गराएकी हुन्। नगरपालिकाका कर्मचारी, प्राविधिक टोली तथा सुरक्षाकर्मीको उपस्थितिमा गरिएको उक्त कार्यमा घरको बाहिरी भाग र सार्वजनिक क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको स्थानीयले बताएका छन्।
कार्यवाहक मेयर हरिजनले सार्वजनिक सम्पत्ति कसैको व्यक्तिगत स्वार्थका लागि प्रयोग हुन नहुने बताउँदै आफूले नेतृत्वको जिम्मेवारीअनुसार उदाहरण प्रस्तुत गरेको प्रतिक्रिया दिएकी छन्। उनका अनुसार सार्वजनिक जग्गा संरक्षण नगरपालिकाको साझा दायित्व भएकाले अभियान निष्पक्ष रूपमा सञ्चालन गरिनेछ।
उनले भनिन्, “सार्वजनिक सम्पत्ति सबै नागरिकको साझा सम्पत्ति हो। नेतृत्वमा बसेको व्यक्ति आफैंले नियम पालना गर्नुपर्छ भन्ने सन्देश दिन मैले आफ्नैबाट सुरु गरेकी हुँ। अब नगरभित्र जहाँ जहाँ अतिक्रमण छ, कानुन अनुसार हटाइन्छ।”
नगरपालिकाले आगामी दिनमा सडक सीमा मिचेर बनाइएका संरचना, नाला तथा खुला क्षेत्र अतिक्रमण, सार्वजनिक बाटो अवरुद्ध गर्ने निर्माण लगायतका विषयमा पनि अनुगमन तीव्र पार्ने जनाएको छ। नगरभित्रका विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमणका गुनासा आइरहेको भन्दै प्रशासनले तथ्यका आधारमा आवश्यक कारबाही गरिने स्पष्ट पारेको छ।
स्थानीय समाज सेवी वझाउद्दीन खाँनले कार्यवाहक मेयरको कदमलाई सकारात्मक सुरुआतका रूपमा लिएका छन्। आफ्नो कमजोरी स्वीकार्दै कानुन पालना गरेको उदाहरण विरलै देख्न पाइन्छ। “यदि सबै नेताले यस्तो उदाहरण प्रस्तुत गर्ने हो भने सार्वजनिक सम्पत्ति संरक्षण अभियान प्रभावकारी हुन सक्छ,” खाँनले बताए ।
तर केहीले भने यो कदम जनदबाबपछि मात्र आएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा निरन्तर आलोचना भएपछि मात्र संरचना हटाइएको भन्दै उनीहरूले नगरपालिकाले अब सबै माथि समान रूपमा नियम लागू गर्नुपर्ने माग गरेका छन्। “साधारण नागरिकमाथि मात्रै होइन, पहुँचवालामाथि पनि समान कारबाही हुनुपर्छ,” वझाउद्दीनले बताए ।
नगरपालिका प्रशासनका अनुसार वडा नम्बर १ बाट जग्गाको नापजाँच तथा गरेर सार्वजनिक जग्गाको वास्तविक अवस्था पहिचान गरि हटाईएको छ । अब हरेक वडाको पोखरी, कुलो, नाला, सडक पेटी, सर्वजनिक अतिक्रमण गरि बनाएको घर टहरा सबै हटाईने, सूचना जारी गरेर स्वेच्छिक रूपमा संरचना हटाउन आग्रह गरिने र अटेर गरे कानुनी प्रक्रिया अघि बढाइने प्रशासन प्रमुख सोभाकर पौडेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *