भैरहवामा माननीय कप क्रिकेट प्रतियोगिता २०८२/८३ सुरु, १७ टोलीबीच प्रतिस्पर्धा गर्दै

गैंडहवा न्युज

लुम्बिनी , जेठ ११गते /“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा माननीय कप क्रिकेट प्रतियोगिता २०८२÷८३ आजदेखि भैरहवामा सुरु भएको छ । जिल्लामा क्रिकेट खेलको विकास, युवालाई खेलप्रति आकर्षित गर्ने तथा स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा रुपन्देही जिल्लाका विभिन्न क्लब तथा संस्थाका गरी १७ वटा टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताले जिल्लाका युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै क्रिकेटप्रति बढ्दो आकर्षणलाई थप ऊर्जा दिने विश्वास गरिएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेले खेलकुद राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले खेलकुदले युवालाई अनुशासन, मेहनत, सहकार्य र सकारात्मक सोच सिकाउने उल्लेख गर्दै सरकारले खेल क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माण, खेलाडी उत्पादन तथा प्रतियोगिता सञ्चालनलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
मन्त्री पाण्डेले क्रिकेट खेलप्रति युवाको आकर्षण बढ्दै गएको उल्लेख गर्दै रुपन्देही क्रिकेटको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको धारणा राख्नुभयो । उहाँले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच सहकार्य गर्दै खेलाडी उत्पादन र खेल पर्यटनको विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खान ले खेलकुद समाजलाई सकारात्मक दिशातर्फ लैजाने प्रभावकारी माध्यम भएको बताउनुभयो । उहाँले युवालाई कुलत, हिंसा र विकृतिबाट टाढा राख्न खेलकुदको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सिद्धार्थनगर नगरपालिकाले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
नगर प्रमुख खानले भैरहवा तथा रुपन्देही क्षेत्रमा क्रिकेट खेलको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले नयाँ प्रतिभा खोज्न र खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न प्रेरणा मिल्ने बताउनुभयो ।

त्यसैगरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मुक्ति नाथ यादव भोला ले खेलकुदले समाजमा भाइचारा, एकता र अनुशासन कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने धारणा राख्नुभयो । उहाँले युवाहरूलाई खेलतर्फ आकर्षित गर्न स्थानीय तहले निरन्तर सहयोग गरिरहेको बताउँदै आगामी दिनमा खेलमैदान व्यवस्थापन तथा खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाइने बताउनुभयो । खेलमा हार जित भए पनि वडा नम्बर ४ को टिमले यस खेलमा पहिलो वा दोस्रो स्थान हासिल गरेको खण्डमा वडा नम्बर ४ ले रु ५५ हजार रुपैया सहित खेलाडीहरुलाई सम्मान गर्ने प्रतिबद्धता गर्नु भयो ।

कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख हरि बहादुर बिष्टले प्रतियोगिताको उद्देश्यबारे प्रकाश पार्दै रुपन्देहीमा क्रिकेट खेलको विस्तार र खेलाडीको क्षमता अभिवृद्धिका लागि यस्ता प्रतियोगिता आवश्यक रहेको बताउनुभयो । उहाँले खेलाडीको हौसला बढाउन र खेल संस्कृतिको विकास गर्न कार्यालयले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका योजना शाखा प्रमुख भागिरथ अधिकारीले रुपन्देही क्रिकेटको हबका रूपमा स्थापित हुँदै गएको बताउनुभयो । उहाँले जिल्लामा क्रिकेटप्रति युवाको उत्साह उल्लेखनीय रहेको भन्दै सामाजिक विकास डिभिजन कार्यालयले खेलाडीको प्रोत्साहन, प्रतियोगिता सञ्चालन तथा खेलकुद विकासका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी दिनुभयो ।

उहाँले खेलकुदले स्वास्थ्य प्रवद्र्धनका साथै सामाजिक सद्भाव र नेतृत्व विकासमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो । प्रतियोगिताले जिल्लामा खेलकुदप्रति थप उत्साह सिर्जना गर्ने विश्वास व्यक्त गर्दै सहभागी सम्पूर्ण टोलीलाई सफलताको शुभकामना दिनुभयो ।उद्घाटन कार्यक्रममा विभिन्न खेलकर्मी, जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, प्रशिक्षक, खेलाडी तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *