रुपन्देहीको प्रहरीले फरार रहेका ३ प्रतिवादी रुपन्देहीबाट पक्राउ, अदालतमा पेश

गैंडहवा न्युज
लुम्बिनी , असार २६गते /रुपन्देहीको प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले फैसला कार्यान्वयन अभियानअन्तर्गत बुधबार ९असार २४० जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सम्मानित रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसला बमोजिम कैद तथा जरिवाना सजाय सुनाइए पनि हालसम्म फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गरी पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी रुपन्देही जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा रुपन्देहीको गैडहवा गाउँपालिका–६ निवासी विशाल यादव रहेका छन्। उनी लागूऔषध सम्बन्धी मुद्दामा दोषी ठहर भई ३ महिना १ दिन कैद सजाय तोकिएका व्यक्ति हुन्।

यस्तै, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–५ निवासी कमरुद्दिन मुसलमान कुटपिट, गाली तथा बेइज्जती मुद्दामा अदालतबाट ५ हजार रुपैयाँ जरिवाना सजाय पाएका प्रतिवादी हुन् । त्यसैगरी, रुपन्देहीको मायादेवी गाउँपालिका–४ झुलनीपुर निवासी अशोक कुमार कलवार चेक अनादर मुद्दामा अदालतबाट ५ सय रुपैयाँ जरिवाना सजाय तोकिएका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिएको जनाएको छ । प्रहरीले अदालतको फैसला कार्यान्वयनमा सहयोग गर्न र फरार प्रतिवादीबारे सूचना भए प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग पनि आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *