गैडहवा न्यूज
लुम्बिनी। रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ स्थित सीमावर्ती कक्रहवा नाकामा सीमा सुरक्षा, भन्सार प्रशासन र स्थानीय सुरक्षा निकायको चरम लापरवाही तथा बेथिति उजागर भएको छ। भारतबाट नेपाल भित्रिने यात्रुवाहक सवारी साधनहरूलाई मुख्य माध्यम बनाएर व्यापारी तथा तस्करहरूले चिनी, किराना सामग्री र भारतीय चिसो पेय पदार्थ (कोल्ड ड्रिङ्क्स) अवैध रूपमा भित्र्याइरहेको पाइएको छ।
तस्करहरूले सुरक्षा निकायको आँखा छल्न ठूलो थोक परिमाणमा भन्दा यात्रुवाहक सवारी साधनहरूमा थोरै-थोरै सामान लोड गरी दैनिक रूपमा ठूलो मात्रामा अवैध निकासी-पैठारी गरिरहेका छन्। कक्रहवा नाका हुँदै भारतबाट नेपालतर्फ आउने सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनहरूमा दैनिक उपभोग्य किराना सामान, चिसो पेय पदार्थ, कपडा र चिनी सजिलै भित्र्याउने गरिएको छ। चालक तथा तस्करहरूले यात्रुको सामानको बहानामा भन्सार छली गरी यी सामानहरू सीमा पार गराइरहेका छन्। नाकामा कडाइ नहुँदा साना-साना परिमाणमा दैनिक रूपमा भित्रिने यस्ता सामान पछि सीमावर्ती भण्डारण केन्द्रहरूमा जम्मा गरी बजारसम्म पुर्याइने गरिएको छ।
सीमा सुरक्षाको फितलोपन कतिसम्म छ भन्ने कुरा हालै सार्वजनिक भएको फोटो प्रमाणले पुष्टि गर्दछ। भारतबाट सीमा पार गरी नेपालतर्फ आएका दुईवटा भारतीय चारपाङ्ग्रे (कार/जिप) गाडीहरू कुनै पनि भन्सार सुविधा (सुविधा पास/प्रज्ञापनपत्र) नलिई नेपाल प्रवेश गरी पररियासम्म पुगेका र पुनः बिना रोकतोक भारततर्फ फर्किएका फुटेजमा प्रस्ट देखिएको छ।
कक्रहवा सीमा नाकादेखि पररियासम्मको छोटो दूरीमा दुई ठाउँमा सशस्त्र प्रहरी सीमा सुरक्षा बिओपी बयरघाट र दुई ठाउँमा नेपाल प्रहरी गरी कुल चारवटा सुरक्षा चेकिङ प्वाइन्ट रहेका छन्। तर यी चारैवटा चेकिङ प्वाइन्टलाई सजिलै छलेर वा सुरक्षाकर्मीकै मूकदर्शक भूमिकाबीच बिना भन्सारका भारतीय गाडीहरू भित्रिने र फर्किने गरेपछि नाकामा तैनाथ सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।
सीमावर्ती नेपाली नागरिकहरू आफ्नो दैनिक उपभोग्य घरायसी सामान खरिदका लागि छिमेकी भारतीय बजार कक्रहवामा पूर्ण रूपमा निर्भर छन्। तर स्थानीय किसान तथा मजदुरहरूले आफ्नो घरका लागि थोरै परिमाणमा सागसब्जी वा घरायसी सामान ल्याउँदा सीमामा खटिएका सुरक्षाकर्मीहरूले रोक्ने र अवैध असुली गर्ने गरेका छन्।
“आफ्नो छाक टार्न सामान ल्याउने गरिब किसानसँग नाकामा १०/२० रुपैयाँ खोसिन्छ, तर भन्सारै नछली ठूला-ठूला भारतीय गाडीहरू र यात्रुवाहक गाडीबाट कपडा, चिसो र चिनी भित्रिँदा प्रहरी आँखा चिम्लिन्छ,” नाम गोप्य राख्ने शर्तमा स्थानीय बासिन्दाहरूले आक्रोश पोखे, “हामीसँग प्रहरीको यो अवैध असुली र लापरवाहीको भिडियो तथा फोटो प्रमाण सुरक्षित छ।”
नाकामा सवारी साधन र यात्रुको व्यवस्थित जाँचका लागि एकीकृत जाँच चौकी र बेरियर निर्माण गरिएको छ। तर उक्त बेरियरमा न त भन्सारका कर्मचारी भेटिन्छन्, न त सशस्त्र प्रहरी नै खटिएका देखिन्छन्। जसका कारण भारतीय दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनहरू निर्वाध रूपमा भित्रिएर पर्यटकीय स्थल लुम्बिनीसहितका क्षेत्रमा दुईदेखि तीन दिनसम्म बिना भन्सार बसेर फर्किने गरेका छन्।
कालीदह छोटी भन्सारका इन्चार्ज सुवास पौडेलसँग बुझ्दा उहाँले आफ्नो लाचारी प्रकट गर्नुभयो। भन्सार इन्चार्ज पौडेलका अनुसार सीमाको यो भद्रगोलबारे सशस्त्र प्रहरी सीमा सुरक्षा बिओपी बयरघाटका प्रहरी निरीक्षकलाई पटक-पटक अनुरोध गर्दा पनि प्रयोजनअनुसार चेकजाँच गरेको देखिँदैन। उहाँका अनुसार आज बिना भन्सार जाँचपास गाडी जानुमा प्रहरीको लापरवाही रहेको बताउनुभयो।
सीमा रेखाको मुख्य नाकामा कडाइ गर्नुको साटो सशस्त्र प्रहरी सीमाभन्दा करिब ५०० मिटर उत्तर दुर्गा मन्दिर अगाडि र नेपाल प्रहरी प्रहरी चौकी कालीदहलगायतका स्थानमा चेकिङ थापेर बस्ने गरेको छ। मुख्य बाटोमा सर्वसाधारणलाई सास्ती दिने तर मुख्य नाकाबाट हुने गैरकानुनी गतिविधि र गाडीको अवैध प्रवेशमा छुट दिने परिपाटीले राज्यको राजस्व चुहावट हुनुका साथै सीमा सुरक्षा गम्भीर जोखिममा परेको छ।
स्थानीय बासिन्दाहरूले नाकामा भइरहेको यो संगठित असुली, तस्करी र बिना भन्सार सवारी साधनको आउजाउबारे तत्काल उच्चस्तरीय छानबिन गरी दोषी सुरक्षाकर्मी र कर्मचारीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
सशस्त्र प्रहरी सीमा सुरक्षा बिओपी बयरघाटका प्रहरी निरीक्षकको प्रतिक्रिया आउन बाँकी छ।

