वीरगन्ज संवाददाता वीरगन्ज, फागुन १६पर्साको वीरगन्जस्थित मधेश विश्वविद्यालयको सभाकक्षमा शनिवार एक भव्य साहित्यिक समारोहका बीच ‘दिनेश गुप्ता प्रतिभा पुरस्कार–२०२६’ अर्पण गरिएको छ । बारा जिल्लाको बेलदारी निवासी युवा साहित्यकार सुवाष कुमार बैठा ‘सौरभ’ लाई उनको चर्चित भोजपुरी काव्य सङ्ग्रह ‘लडाई जिन्दगी के’ का लागि सो पुरस्कार प्रदान गरिएको हो ।
मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक बहादुर शाक्यले साहित्यकार बैठालाई ११ हजार रुपैयाँ नगद, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मानित गर्नुभयो ।

“म गर्वका साथ भन्छु, म मधेशी हुँ”: उपकुलपति शाक्यपुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपकुलपति शाक्य भावुक देखिनुभयो । उहाँले वीरगन्जको माटोसँग आफ्नो गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै भन्नुभयो, “यही वीरगन्जको धर्तीमा मेरो जन्म भयो, यहीँ हुर्किएँ र मेरो मृत्यु पनि यहीँ होस् भन्ने चाहना छ ।

म गर्वका साथ भन्छु म मधेशी हुँ र यस क्षेत्रको भाषा र साहित्यको विकासमा मेरो सदैव साथ रहनेछ ।”उहाँले विश्वविद्यालयको तर्फबाट स्नातक र स्नातकोत्तर तहमा भोजपुरी भाषाको पठनपाठनका लागि पाठ्यक्रम तयार पार्न आफू सकारात्मक रहेको र यसका लागि विज्ञहरूको सुझाव आवश्यक रहेको समेत बताउनुभयो ।
साहित्यकार र विशिष्ट व्यक्तित्वहरूको जमघटगोरखापत्रको भोजपुरी पृष्ठका संयोजक एवं पुरस्कारका संस्थापक दिनेश गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेशका स्थापित साहित्यकार र समाजसेवीहरूको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य गोपाल अश्क, वरिष्ठ साहित्यकार बैजनाथ महतो, वयोवृद्ध कवि महन्थ राय यादव, पत्रकार रामेश्वर मेहता, अजय वियोगी, उर्मिला गिरी, सुबोध गुप्ता, र अजमत अली लगायतले कविता वाचन गर्नुका साथै भोजपुरी साहित्यको वर्तमान अवस्थाबारे चर्चा गर्नुभएको थियो ।त्यस्तै, वीरगन्ज उपमहानगरपालिकाकी पूर्व उपप्रमुख सलमा खातुन र बबिता गुप्ताले पनि कार्यक्रममा आफ्नो मन्तव्य राख्दै ओझेलमा परेका प्रतिभाहरूलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमको प्रशंसा गर्नुभयो ।
भोजपुरी शिक्षाको मागलुम्बिनी प्रदेश रत्न पदक प्राप्त वरिष्ठ साहित्यकार शिवनन्दन जयसवालले कार्यक्रमको सञ्चालन गर्दै उपकुलपति शाक्यलाई भोजपुरी भाषाको शैक्षिक विकासका लागि ठोस योजना बनाउन आग्रह गर्नुभयो । उहाँले उच्च शिक्षामा भोजपुरीलाई समावेश गर्दा यहाँको मौलिक पहिचानले थप उचाइ पाउने विश्वास व्यक्त गर्नुभयो ।
दिनेश गुप्ता प्रतिभा पुरस्कार व्यवस्थापन समितिको आयोजनामा भएको उक्त समारोहमा साहित्यकार प्रमोद पाण्डेले सहभागीहरूलाई शब्दमार्फत स्वागत गर्नुभएको थियो ।

