रमजानको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहयोग

लुम्बिनी । मुस्लिम समुदायको पवित्रपर्व रमजान महिनाको अवसर पारेर रुपन्देहीका विभिन्न स्थानका २ सय विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । तौहिद मानव परोपकार सेवा संघ, कोटहीमाई–५ को आयोजनामा तथा वन लाइफ ग्लोबल वेलफेयर सोसाइटी यूकेको सहयोगमा बिहीबार कोटहीमाई–५ बेनीनगरमा उक्त सामग्री हस्तान्तरण गरिएको हो ।


आयोजक संस्थाका अध्यक्ष सैफुल्लाह चुरिहारका अनुसार रमजान महिनालाई धार्मिक तथा आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । यस महिनामा गरिने दान, सहयोग र परोपकारी कार्यलाई विशेष पुण्यदायी मानिने भएकाले विभिन्न सहयोगी हातहरूको साथमा विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरिएको उहाँले बताउनुभयो ।


उहाँका अनुसार चामल, पिठो, तेल, नुन र दाललगायतका खाद्यान्न सामग्री कोटहीमाई, मर्चवारीमाई, सम्मरीमाई, मायादेवी, सियारी तथा शुद्धोधन गाउँपालिकाका विपन्न मुस्लिम तथा हिन्दु समुदायका परिवारहरूलाई वितरण गरिएको हो । यस कार्यक्रममार्फत धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र मानवताको भावना अझ बलियो बनाउने उद्देश्य रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
खाद्यान्न वितरण कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले संस्थाले गरेको सामाजिक कार्यको प्रशंसा गर्नुभयो । उहाँले यस्तो सहयोगी कार्यले समाजमा मानवता, सहकार्य र सामाजिक एकताको सन्देश प्रवाह गर्ने बताउनुभयो ।


उहाँले भन्नुभयो, “मुस्लिम समुदायका लागि पवित्र मानिने रमजान महिनामा सम्पन्न परिवारले विपन्न परिवारलाई सहयोग गर्नु निकै सकारात्मक र प्रेरणादायी कार्य हो । यसले समाजमा एक–अर्काप्रति सहयोग र सद्भावको भावना बढाउने काम गर्छ ।
अध्यक्ष त्रिपाठीले तौहिद मानव परोपकार सेवा संघले समाजमा गर्दै आएका विभिन्न मानवीय तथा सामाजिक गतिविधिहरू सराहनीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई गाउँपालिकाबाट पनि आवश्यक सहयोग र सहकार्य गर्दै आएको बताउनुभयो ।


कार्यक्रममा स्थानीय समुदाय, समाजसेवी तथा सहयोगीहरूको सहभागिता रहेको थियो । आयोजकले आगामी दिनहरूमा पनि विपन्न तथा आवश्यकतामा रहेका परिवारहरूको सहयोगका लागि यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *