गैंडहवा न्युज |
शुक्रबार सरकारी कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकमा खटिएका प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमका समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि नियन्त्रणको प्रयास गरिएको घटनालाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकारिताको व्यावसायिक सुरक्षासँग जोडिएको गम्भीर विषयका रूपमा लिएको जनाएको छ।
लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यम र पत्रकारले निर्भीक, स्वतन्त्र तथा निष्पक्ष रूपमा आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न पाउने वातावरण सुनिश्चित हुनुपर्नेमा काउन्सिलले जोड दिएको छ।
पत्रकारिता क्षेत्रलाई भय र दबाबमुक्त राख्न सम्बन्धित निकायले यस्ता घटनाको निष्पक्ष छानबिन गरी आवश्यक जवाफदेहिता सुनिश्चित गर्नुपर्ने देखिन्छ। प्रेस स्वतन्त्रता लोकतन्त्रको महत्त्वपूर्ण आधार भएकाले यसको संरक्षण गर्नु राज्यको दायित्वसमेत हो।
सञ्चारमाध्यमका समाचार कक्षमै प्रहरी प्रवेश गरेको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

