गैंडहवा न्युज
जाजरकोट / प्रहरी कार्यालय जाजरकोटको आयोजना तथा सूर्यकिरण युवा विकास केन्द्र, जाजरकोटको सहकार्यमा ‘युवासँग प्रहरी कार्यक्रम–२०८३’ अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कात्तिक १६ गते बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय जाजरकोटको सभाकक्षमा आयोजित कार्यक्रममा कार्यालयमा कार्यरत प्रहरी निरीक्षक राजेश शाहीले युवाहरूका विचार, समस्या, सुझाव तथा अपेक्षाहरू सुन्नुभएको थियो।
कार्यक्रममा लागूऔषध दुर्व्यसन, अनलाइन ठगी, साइबर अपराध, सडक सुरक्षा तथा ट्राफिक सचेतना, लैङ्गिक हिंसा र सामाजिक कुरीतिविरुद्ध युवाहरूको भूमिका एवं सक्रिय सहभागिताका विषयमा सहजीकरण गरिएको थियो।
समाजमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न युवाहरूको नेतृत्वदायी भूमिका स्थापित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रहरी र युवाबीच आपसी विश्वास, सहकार्य तथा समन्वयलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
प्रहरी र युवाबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धतासहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
युवासँग प्रहरी कार्यक्रम–२०८३ अन्तर्गत अन्तरक्रिया सम्पन्न

