कपिलवस्तुमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्षविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता

गैंडहवा न्युज
लुम्बिनी वैशाख ७गते सशस्त्र प्रहरी बलका एक वरिष्ठ हवल्दारमाथि कुटपिट गरेको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी (लाला चौधरी) विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ ।

सशस्त्र प्रहरी बलको किटानी जाहेरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो । घटनापछि पक्राउ परेका चौधरी हाल कानुनी प्रक्रियामा रहेका छन । प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार जिल्ला अदालत कपिलवस्तुले चौधरीमाथि अनुसन्धानका लागि चार दिनको म्याद थप गरेको छ ।

उक्त अवधिमा घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा चौधरीले सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार भीम बहादुर चौधरीमाथि हातपात गरेको पुष्टि हुने आधारहरू फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले चौधरीलाई सोही दिन नियन्त्रणमा लिएको थियो । हाल उनीमाथि ज्यान मार्ने उद्योग कसूरअन्तर्गत अनुसन्धान जारी रहेको छ ।

घटना सार्वजनिक भएसँगै जनप्रतिनिधिको जिम्मेवारी र आचरणमाथि गम्भीर प्रश्न उठेका छन । स्थानीय स्तरमा चौधरीको व्यवहारप्रति तीव्र आलोचना भइरहेको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *