लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य प्रति खेलवाड बिरामीलाई म्याद गुज्रेको औषधि वितरण

गैंडहवा न्युज , लुम्बिनी
लुम्बिनी सांस्कृतिक नगरपालिका–५ स्थित तेनुहवा स्वास्थ्य चौकीले बिरामीको स्वास्थ्यमाथि लापरवाही गर्दै म्याद गुज्रिएको औषधि वितरण गरेको फेला परेको छ । उपचारका लागि पुगेका बिरामीलाई सन् २०२५ मे मै म्याद सकिएको जुकाको औषधि दिइएको पाइएको हो ।
सेवाग्राही वडा नं. ११ महदेवाका ३० वर्षीय फैजुल्लाह फकिरका अनुसार उनलाई दिइएको औषधिको म्याद जाँच गर्दा करिब एक वर्ष पहिले नै सकिएको भेटिएको थियो । फकिरले यसबारे तत्कालै प्रश्न उठाएपछि सम्बन्धित स्वास्थ्यकर्मीले गैर–जिम्मेवारभई औषधि खोसेर डस्टबिनमा फालेका थिए ।
उनले भने, ‘हामी सरकारी स्वास्थ्य संस्थामा भरोसा गरेर जान्छौँ, तर त्यहाँ म्याद नाघेको औषधि दिनु र थाहा पाएपछि उल्टै प्रमाण लुकाउन खोज्नुले कर्मचारीको नियतमाथि आशंका जन्माएको छ ।’
यस विषयमा तेनुहवा स्वास्थ्य चौकीका इन्चार्ज एवम् सिनियर अहेवा कैलास प्रसाद बस्यालले भने औषधिको म्याद नाघेको कुरालाई अस्वीकार गरेका छन् । उनले औषधिको म्याद नसकिएको दाबी गर्दै भुलवश म्याद सकिएको पुरानो डब्बामा औषधि राखिएकोले भ्रम सिर्जनाभएको तर्क अघि सारे ।
यद्यपि, सुरक्षित औषधि भण्डारण र वितरणको विश्वव्यापी नियमविपरीत म्याद नाघेको भाँडो वा प्याकेट प्रयोग गर्नुले स्वास्थ्य चौकीको व्यवस्थापकीय कमजोरीलाई प्रस्टएको बस्यालले बताए ।
घटना सार्वजनिक भएपछि स्थानीय युवा विक्रम सिंह लोधले स्वास्थ्य केन्द्रहरूमा नियमित अनुगमन नहुँदा यस्ता घटना दोहोरिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘उपचार खोज्न आउने बिरामीको ज्यान जोखिममा पार्ने लापरवाही अक्षम्य छ ।’ कर्मचारीको लापरवाही र नियमित स्टक जाँच नगर्ने प्रवृत्तिले लुम्बिनीका जनताको स्वास्थ्यमा खेलबाड भइरहेको लोधले बताए । उनले नगरपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा तत्काल आकस्मिक अनुगमनगरी दोषीलाई कडा कारबाही गर्न माग गरे ।
जुकाको औषधि म्याद सम्बन्धी विवाद सार्वजनिक भएपछि लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख धुप घिमिरेले यस घटनालाई गम्भीर रूपमा लिएको बताए । उनले प्राथमिक रूपमा कर्मचारीको कमजोरी देखिएको स्वीकारर्दै भने, ‘हामीले यस घटनालाई गम्भीरतापूर्वक लिएका छौँ । यस्तो संवेदनशील त्रुटि दोहोरिन नदिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिँदै सचेत गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *