रुपन्देही प्रहरीले २२ लाखभन्दा बढीका अवैध सामान बरामद, तस्करी नियन्त्रणमा चुनौती

लुम्बिनी , वैशाख ५

रुपन्देही प्रहरीले सीमावर्ती क्षेत्रहरूमा सक्रियता बढाउँदै २२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको विशेष टोलीले विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा २२ लाख १० हजार ९ सय रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार मायादेवी गाउँपालिका–६ सानो दुर्गौलियाबाट मात्रै १३ लाख १७ हजार ४ सय रुपैयाँ बराबरका लत्ताकपडा बरामद गरिएको छ । सो क्रममा तस्करीमा प्रयोग भएका तीनवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।

यस्तै, सिद्धार्थनगर–२ जंगलटोलबाट ७ लाख ६४ हजार ५ सय रुपैयाँ बराबरका विभिन्न सामग्री बरामद गरिएको छ भने बेलहिया क्षेत्रबाट केरा र कस्मेटिक सामानसहित साइकलहरू पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ बभईबाट भने जिउँदो बोइलर कुखुरा र मोटरसाइकलसहित अन्य सामान पनि बरामद गरिएको छ । सबै बरामद सामग्री भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सीमा क्षेत्रमा निगरानी कडा बनाएको दाबी गरे पनि तस्करी भने पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । स्थानीयका अनुसार विशेषगरी रातिको समयमा मोटरसाइकलमार्फत हुने तस्करी अझै रोकिएको छैन । स्थानीय बासिन्दाले रातिको गस्ती थप कडा बनाउन र तस्करीको जालो तोड्न सम्बन्धित निकायलाई आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *