दीपक जैसवाल लुम्बिनी
बैशाख २६गते रुपन्देहीको इलाका प्रहरी कार्यालय लुम्बिनी, अस्थायी ट्राफिक प्रहरी पोष्ट लुम्बिनी तथा लागू औषध नियन्त्रण ब्युरो शाखा भैरहवा को संयुक्त आयोजनामा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ६ स्थित पर्सा चौकमा विशेष संयुक्त चेकजाँच अभियान सञ्चालन गरिएको छ ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा लागूऔषध दुरुपयोग नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत सवारी साधन, चालक तथा यात्रुहरूको कडाइका साथ चेक जाँच गरिएको प्रहरीले जनाएको छ ।
अभियानमार्फत सडक सुरक्षा, ट्राफिक अनुशासन तथा सामाजिक सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ ।
प्रहरीले “सडक सबैको साझा हो, यसको सही सदुपयोग गरौं” भन्ने सन्देशसहित नागरिकलाई जिम्मेवार र सुरक्षित यात्रा गर्न आग्रह गरेको छ । स्थानीयवासीले समेत यस्तो अभियानले दुर्घटना न्यूनीकरण तथा समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेका छन ।

