विद्यालयको बिदा घट्यो, प्रार्थना र खाजा समय अनिवार्य


काठमाण्डौ,वैशाख ३०गते/शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले विद्यालयहरूको नयाँ कार्य तालिका निर्धारण गर्दै हप्तामा दुई दिन बिदा कार्यान्वयन गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्को गएको चैत २२ गतेको निर्णयअनुसार शैक्षिक सत्र–२०८३ देखि विद्यालयमा शनिबार र आइतबार सार्वजनिक बिदा लागू हुने भएपछि मन्त्रालयले पठनपाठनको समय व्यवस्थापनसम्बन्धी नयाँ परिपत्र जारी गरेको हो । परिपत्र शिक्षा विकास तथा समन्वय इकाई, सबै स्थानीय तह तथा विद्यालयहरूमा पठाइएको जनाइएको छ ।

नयाँ व्यवस्थाअनुसार अब विद्यालयहरूले स्वीकृत पाठ्यक्रमले तोकेको कार्य घण्टा पूरा हुने गरी समय तालिका मिलाउनुपर्नेछ । प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय अनिवार्य रूपमा व्यवस्थापन गर्नुपर्नेछ भने सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठन तथा शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ ।

यसअघि ४५ दिन कायम रहेको हिउँदे तथा वर्षे बिदा अब घटाएर ३० दिनमा सीमित गरिएको छ । यस्तै, शैक्षिक सत्रको अन्तिम १२ दिन अन्तिम परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनका लागि छुट्याइएको छ । केन्द्रले सिकाइलाई व्यवहारिक र प्रभावकारी बनाउन प्रत्येक शुक्रबार समुदाय तथा परिवारसँग सम्बन्धित क्रियाकलाप, सूचना प्रविधिको उपयोग, सन्दर्भ सामग्री अध्ययन तथा बहुविषयमा आधारित परियोजना एवं प्रयोगात्मक कार्य सञ्चालन गर्न पनि विद्यालयलाई निर्देशन दिएको छ । आवश्यकताअनुसार विद्यार्थीलाई प्रस्तुति गर्ने अवसरसमेत उपलब्ध गराउन भनिएको छ ।

परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालनका लागि पाठ्यक्रम विकास केन्द्र को वेबसाइटमा रहेको ‘परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२’ प्रयोग गर्न सकिने केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *