गैंडहवा न्युज
लुम्बिनी / सिद्धार्थनगर नगरपालिका–भैरहवास्थित भीम अस्पताल अगाडिको क्षेत्रमा नगर प्रहरीले गरेको कडाइका कारण दैनिक ज्यालादारी तथा साना व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका विपन्न नागरिक समस्यामा परेका छन्।
परिवारको दैनिक खर्च धान्न सडकछेउमा सानो व्यापार तथा व्यवसाय गर्दै आएका नागरिकलाई हटाइएपछि उनीहरूको आम्दानीको स्रोत नै बन्द भएको स्थानीयको गुनासो छ। उनीहरूका अनुसार सानो व्यवसायबाट हुने आम्दानीले घरपरिवारको चुलो बाल्दै आएका अवस्थामा विकल्पबिना हटाइँदा दैनिक जीवनयापनमै समस्या परेको हो।
नगर क्षेत्रलाई व्यवस्थित बनाउने नाममा गरिएको कारबाहीप्रति स्थानीयले आपत्ति जनाउँदै गरिब तथा निमुखा नागरिकको जीविकोपार्जनको विकल्प सुनिश्चित नगरी गरिने हटाउने वा नियन्त्रणको कदम न्यायोचित नहुने बताएका छन्।
स्थानीयका अनुसार नगरपालिकाले सडक तथा सार्वजनिक क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक कदम चाल्न सक्छ। तर, त्यस क्रममा दैनिक ज्यालादारी तथा साना व्यापारमा निर्भर नागरिकको रोजगारी र जीविकोपार्जनलाई समेत ध्यान दिनुपर्ने उनीहरूको माग छ।
उनीहरूले विपन्न नागरिकलाई हटाउनुको सट्टा उचित स्थानको व्यवस्था, निश्चित समय र क्षेत्र निर्धारण तथा वैकल्पिक रोजगारी वा व्यवसाय गर्ने वातावरण बनाउन नगरपालिकासँग आग्रह गरेका छन्।
स्थानीयको माग छ, “नगर व्यवस्थित बनाउने कामसँगै गरिबको रोजगारी र पेट पाल्ने अधिकारको पनि सम्मान गरियोस्।”
सिद्धार्थनगर नगरपालिकाले नगरको सौन्दर्य, सार्वजनिक स्थानको व्यवस्थापन तथा आवागमन सहज बनाउने उद्देश्यले कदम चाल्दा प्रभावित साना व्यवसायी तथा श्रमिकका लागि मानवीय, व्यावहारिक र न्यायोचित विकल्पसहितको व्यवस्थापन गर्नुपर्ने स्थानीयको भनाइ छ।
भीम अस्पताल अगाडि नगर प्रहरीको कडाइ, साना व्यवसायीको रोजगारी संकटमा

