भैरहवामा गुडिरहेको मोटरसाइकलबाट युवकलाई लतारेर अपहरण र ज्यान मार्ने प्रयास, एक जना पक्राउ

गैंडहवा न्युज
लुम्बिनी , जेठ १७गते /रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एक युवकलाई गुडिरहेको मोटरसाइकलबाट कपडा समातेर सडकमै लतार्दै अपहरण तथा ज्यान मार्ने प्रयास गरिएको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गत जेठ १० गते दिउँसो करिब ४ बजे सिद्धार्थनगर नगरपालिका–४ दोगहरा लुम्बिनी रोड क्षेत्रमा उक्त घटना भएको हो । भैरहवा–लुम्बिनी सडक खण्ड अन्तर्गत एयरपोर्ट अगाडिको सडकमा मोटरसाइकलमा सवार दुई जना व्यक्तिले कोटहीमाई गाउँपालिका–३ निवासी १९ वर्षीय इन्द्रकेश यादवको कपडा समातेर सडकमा घिसार्दै लगेका थिए ।

घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि प्रहरीले घटनाबारे जानकारी पाएको थियो । फुटेजमा युवकलाई मोटरसाइकलबाट सडकभरि लतार्दै लगिएको दृश्य देखिएपछि इलाका प्रहरी कार्यालय बेथरी, प्रहरी चौकी रमवापुर तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्रहरी निरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरिएको थियो ।

प्रहरीले तीव्र अनुसन्धान तथा खोजतलास सञ्चालन गर्दै घटनाको भोलिपल्ट अर्थात् जेठ ११ गते एक जनालाई पक्राउ गर्न सफल भएको जनाएको छ । पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका–६ निवासी २० वर्षीय अभिषेक पासी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरका अनुसार पक्राउ परेका पासीलाई “अपहरण तथा ज्यान मार्ने उद्योग” मुद्दामा रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

प्रहरीका अनुसार घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *