लुम्बिनी , साउन २७ गते /रूपन्देहीमा प्रहरीले चेसिस तथा इन्जिन नम्बर टेम्पर गरी सञ्चालन गरिएका दुई वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा लु १ क ४०७६ नम्बरको हाइवा (टिप्पर) र लु २ त ५२०१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा दुवै सवारीसाधनको चेसिस तथा इन्जिन नम्बर टेम्पर गरी सञ्चालन गरिएको खुलेपछि आवश्यक कारबाहीका लागि ती सवारीसाधनलाई यातायात व्यवस्था कार्यालय (सवारी), रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीले सवारीसाधनको पहिचान तथा दर्तासँग सम्बन्धित विवरणमा छेडछाड गरी सञ्चालन गर्ने कार्यमाथि निगरानी तथा अनुसन्धानलाई निरन्तरता दिएको जनाएको छ ।

