दिनेश प्रसाद लोध, लुम्बिनी
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा सर्वजनिक सुनुवाइमा नगरिक भन्दा कार्मचारीको उपस्तिथि बढी रहेको पइएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीहरुले अपेक्षा गरे अनुसार न्यून सहभागिता देखिएको छ भने कर्मचारीहरूको उपस्थिति उल्लेख्य रूपमा बढी रहेको पाइएको छ। स्थानीय तहमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको १३ वडा र ८० हजार भन्दा बढी जनसख्या भएको नगरपालिकाको कार्यक्रममा १५–२०नागरिकको उपस्थिति देखिनुले पालिकाको सर्वजनिक सुनुवाइ भन्ने कि नभन्ने प्रश्न खडा भएको छ ।
सार्वजनिक सुनुवाइमा सहभागिता कमी हुनुका पछाडि विभिन्न कारणहरू देखिएका छन् । कार्यक्रमबारे पर्याप्त प्रचार–प्रसार नहुँदा धेरै नगरवासीसम्म र पत्रकारलाइ समेत जानकारी पुग्न सकेको छैन । साथै यस अघि गुनासो राख्दा गुनासोको कुनै सुनुवाइ नभएकोले सर्वजनिक सुनुवाइमा गुनासो राख्दा पनि केही हुँदैन भन्ने सोचले नागरिकहरू निरुत्साहित भएका छन । उचित समय र स्थानको छनोट नहुँदा पनि सहभागी हुन कठिनाइ भएको देखिन्छ। यसका साथै, अघिल्ला कार्यक्रमहरू प्रभावकारी नभएको अनुभवका कारण नागरिकहरू पुनः सहभागी हुन इच्छुक देखिएका छैनन् । यी सबै कारणहरूले गर्दा सार्वजनिक सुनुवाइमा नगरवासीहरुको सक्रिया उपस्थिति नगरपालिकाले नै गराउन नखोजेको देखिएको छ ।
नगर पालिकाले नगरवासीका लागि आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम वैशाख महिनाको करिब ५० डिग्री तापक्रममा खुला चौरमा सामान्य चिया–बिस्कृटमै सीमित गरिएको, तर नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूका लागि भने एसी भएको कोठामा मासु–भातसहित कार्यक्रम आयोजना गरिनु आम नागरिकमाथि विभेद भएको समाजसेवी कसीम खानले आरोप लगाएका छन् । उनले भने नगरपालिकाले आफ्ना कार्यक्रमहरूमा समान व्यवहार गर्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
जलेश्वर पब्लिक मिडिया प्रा.लि.द्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रम चलिरहेको अवस्थामा टेन्ट हाउसका मालिकले बुक गरिएको समयभन्दा अगावै टेन्ट र कुर्सी हटाएपछि कार्यक्रम प्रभावित बनेको थियो ।
कार्यक्रमका लागि दिउँसो १२ बजेसम्मका लागि ११ हजारमा टेन्ट तथा कुर्सी बुक गरिएको भए पनि कार्यक्रम जारी रहँदाहुँदै ती सामग्री उखेलेर लगिँदा वातावरण खल्लो बनेको सहभागीहरूले बताएका छन् ।
यस विषयमा वसीउद्दीन मुसलमानले आपत्ति जनाउँदै कार्यक्रमको गरिमा र व्यवस्थापनमा असर पुगेको उल्लेख गरेका छन् । उनका अनुसार यस्तो व्यवहारले सार्वजनिक सुनुवाइ कार्यक्रमको मर्यादा घटाएको महसुस गरिएको छ ।
यसअघि आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार शिशिर मिश्राले बजेट अभाव भए आफूलाई जानकारी गराउन आग्रह गर्दै यस्ता कार्यक्रम एक्लैले पनि आयोजना गर्न सक्ने बताएका थिए । तर त्यसका बाबजुद पनि आज सार्वजनिक सुनुवाइ कार्यक्रमहरू व्यवस्थित रूपमा सञ्चालन हुन नसकेको भन्दै अपत्ति जनाएको छ ।नगरवासीकै कार्यक्रममा बजेटको अभाव हुनु कार्मचारी र जनप्रतिनिधि नियत माथि प्रश्न उठेको उनले बताए ।
स्थानीयवासीहरूका अनुसार कार्यक्रम व्यवस्थापन कमजोर हुँदा सार्वजनिक सुनुवाइ खल्लो बन्नुका साथै नगरवासीहरूको सम्मानमा समेत असर पुगेको अनुभूति गरिएको छ । उनीहरूले यस्तो अवस्थाले जनतामुखी कार्यक्रमको उद्देश्य नै ओझेलमा परेको बताएका छन्

