नागरिकका गुनासो प्रहरी जनताको बीचमा लुम्बिनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

गैंडहवा न्युज
रुपन्देही — नागरिकका समस्या, गुनासा तथा सुरक्षा सम्बन्धी विषयमा प्रत्यक्ष संवाद गर्ने उद्देश्यले मंगलबार इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजन, इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक होमनाथ रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

नागरिक सुनुवाई कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, आमा समूहका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा समाजसेवीसहित करिब १२५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानीय नागरिकले क्षेत्रको शान्ति–सुरक्षा, प्रहरी सेवा तथा समुदायसँग सम्बन्धित विभिन्न विषयमा आफ्ना गुनासा, सुझाव र अपेक्षा राखेका थिए ।

प्रहरी अधिकारीहरूले नागरिकका सवाल तथा सुझावलाई सम्बोधन गर्दै प्रहरी र नागरिकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।नागरिकका आवाज प्रत्यक्ष सुन्ने र प्रहरी सेवाप्रति नागरिकको विश्वास अझ मजबुत बनाउने उद्देश्यले आयोजित कार्यक्रमले ‘प्रहरी–नागरिक सहकार्य, सुरक्षित समाजको आधार’ भन्ने सन्देश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *