भैरहवामा असोज २४ र २५ गते ‘सिद्धार्थ सडक खाना महोत्सव’ हुँदै

गैंडहवा न्युज
लुम्बिनी, असोज १९ गते /रुपन्देहीको व्यवसायिक तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले भैरहवामा ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८३’ आयोजना हुने भएको छ । चेम्बर अफ कमर्स, रुपन्देहीले दशैं–तिहार तथा विश्व पर्यटन दिवसको अवसर पारेर यही असोज २४ र २५ गते महोत्सव आयोजना गर्न लागेको हो।
महोत्सव भैरहवाको बसपार्कदेखि देवकोटा चोकसम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार दुवै दिन साँझ ५ बजेदेखि राति १२ बजेसम्म महोत्सव सञ्चालन हुनेछ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोकाले विभिन्न समयका आन्दोलन, प्राकृतिक विपद्, कोरोना महामारीलगायतका कारण उद्योगी तथा व्यवसायीले पटक–पटक संकटको सामना गर्नुपरेको बताउँदै बजार तथा आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउन महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।
उहाँले व्यवसाय क्षेत्रलाई संकटबाट माथि उठाउने प्रयास भइरहेका बेला विभिन्न समस्या आउने गरे पनि व्यवसायीले हरेक पटक पुनः व्यवसायलाई चलायमान बनाउन प्रयास गर्दै आएको बताउनुभयो ।
“समस्याले जहिले पनि हामीलाई सुताइरहन्छ। कहिले मधेस आन्दोलन, कहिले भूकम्प, कहिले कोरोना त कहिले अन्य संकटले उद्योगी–व्यवसायीलाई प्रभावित बनाउँदै आएको छ,” अध्यक्ष रोकाले भन्नुभयो, “तर हरेक पटक हामी व्यवसायलाई फेरि उठाउनुपर्छ भन्ने उद्देश्यले अघि बढिरहेका छौँ ।”
चेम्बरले व्यवसाय तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले समय–समयमा मेला, प्रदर्शनी तथा सडक खाना महोत्सव आयोजना गर्दै आएको उहाँले बताउनुभयो । यसपटकको महोत्सवलाई पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि विस्तारसँग जोडिएको उहाँको भनाइ छ ।
अध्यक्ष रोकाले सिद्धार्थनगरलाई पर्यटकको आवतजावत गर्ने स्थानमा मात्र सीमित नराखी बस्ने, खाने, घुम्ने र खर्च गर्ने गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
भारतसँग जोडिएको बेलहिया नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा लुम्बिनी आसपासका धार्मिक, सांस्कृतिक र प्राकृतिक गन्तव्यका कारण यस क्षेत्रमा पर्यटनको पर्याप्त सम्भावना रहेको उहाँले बताउनुभयो । सिद्धार्थनगरको आर्थिक गतिविधि बढाउन सके समग्र रुपन्देहीको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ छ ।
आयोजकका अनुसार महोत्सवमा करिब एक सय स्टल रहनेछन्। स्थानीय व्यवसायी, उद्यमी, होटल तथा रेस्टुरेन्ट व्यवसायी, पर्यटन व्यवसायीका साथै विभिन्न समुदायका परम्परागत तथा जातीय खानाका परिकार स्टलमा राखिनेछन्। दुई दिनमा करिब ५० हजार दर्शक तथा उपभोक्ता सहभागी हुने आयोजकको अपेक्षा छ ।
महोत्सवका कार्यक्रम संयोजक विनोद खरेलले बजार तथा व्यवसायलाई चलायमान बनाउनुका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । महोत्सवमा दुर्गेश थापा, प्रिती पासवानलगायत राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहने उहाँले जानकारी दिनुभयो ।
स्थानीय प्रतिभालाई समेत अवसर प्रदान गरिने बताउँदै खरेलले स्थानीय तथा जातीय परिकार, सांस्कृतिक कार्यक्रम र सांगीतिक प्रस्तुतिमार्फत महोत्सवलाई मनोरञ्जनसँगै पर्यटन प्रवर्द्धनसँग जोड्न खोजिएको बताउनुभयो।
यसैगरी महोत्सवका सुरक्षा उपसमिति संयोजक राममिलन यादवले महोत्सवलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी भइरहेको बताउनुभयो। ठूलो संख्यामा दर्शक सहभागी हुने अपेक्षा गरिएकाले भीड व्यवस्थापन, सवारी आवागमन, पार्किङ तथा सुरक्षा निगरानीलाई प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो।
आयोजकका अनुसार महोत्सव अवधिभर आयोजक, सुरक्षा निकाय तथा सम्बन्धित पक्षबीच समन्वय गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइनेछ।
स्थानीय खानाका परिकार, सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति र पर्यटन प्रवर्द्धनलाई एकै ठाउँमा जोडेर आयोजना गर्न लागिएको **‘सिद्धार्थ सडक खाना महोत्सव–२०८३’ले भैरहवा तथा समग्र रुपन्देहीको आर्थिक तथा पर्यटन गतिविधिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *