गैंडहवा न्युज
लुम्बिनी १९गते । लुम्बिनी विकास कोषमा स्थानीयवासीलाई प्राथमिकताका साथ नियुक्ति गर्नुपर्ने माग गर्दै श्रम संस्कृति पार्टीले बाहिरबाट अधिकारी ल्याएर नियुक्ति गरिए विरोध गर्ने चेतावनी दिएको छ।
लुम्बिनी साँस्कृतिक नगरपालिका श्रम संस्कृति पार्टीका कार्यवाहक अध्यक्ष अब्दुल हासिम खानले पत्रकार सम्मेलनमार्फत लुम्बिनीको विकास, संरक्षण तथा व्यवस्थापनमा स्थानीयवासीको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताएका छन्।
उनले लुम्बिनी मै बसोबास गर्ने स्थानीय नागरिकलाई अवसर नदिई बाहिरी व्यक्तिलाई पद तथा जिम्मेवारी दिइए त्यसको विरोधमा पार्टी सशक्त रूपमा अघि बढ्ने चेतावनी दिए।
खानले भने, “हामीलाई बाहिरी अधिकारी चाहिँदैन। लुम्बिनीको विषयमा स्थानीय जनताको भावना र मागलाई सम्बोधन गर्दै स्थानीयलाई नै प्राथमिकता दिनुपर्छ।”
स्थानीय जनताले लुम्बिनी विकास कोषका पदाधिकारीसमक्ष आफ्ना प्रश्न, गुनासा तथा समस्या राख्न पाउनुपर्ने पनि उनले बताए। स्थानीयका सवालमा कोषका पदाधिकारीले प्रत्यक्ष रूपमा जवाफ दिनुपर्ने र स्थानीय जनतासँग नियमित संवादको वातावरण बनाउनुपर्ने पार्टीको माग छ।
कोषमा स्थानीयको प्रतिनिधित्व र रोजगारी सुनिश्चित नगरिए स्थानीय जनता एकजुट भएर आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिइएको छ।
लुम्बिनीको सांस्कृतिक तथा धार्मिक महत्वलाई ध्यानमा राख्दै यहाँका स्थानीयको अधिकार, सहभागिता र रोजगारी सुनिश्चित गर्नुपर्नेमा श्रम संस्कृति पार्टीले जोड दिएको छ।
लुम्बिनी विकास कोषमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने श्रम संस्कृति पार्टीको माग

