सिद्धार्थनगरमा शारीरिक अपाङ्गता परीक्षण शिविर, ८८ बालबालिकाले पाए सेवा

गैंडहवा न्युज
लुम्बिनी, असोज १९ गते ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा सञ्चालन गरिएको शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरबाट ८८ जना बालबालिका लाभान्वित भएका छन्। शारीरिक अपाङ्गता भएका बालबालिकाको समयमै पहिचान, उपचार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।
सिद्धार्थनगर नगरपालिका र अपाङ्गता भएका बालबालिकाको अस्पताल तथा पुनर्स्थापना केन्द्रको आयोजनामा तथा भीम अस्पतालको समन्वयमा आइतबार शिविर सञ्चालन गरिएको थियो।
शिविरमा ७५ जना बालबालिकाले फिजियोथेरापी सेवा लिएका छन्। तीमध्ये १० जना बालबालिकालाई विशेष प्रकारका जुत्तालगायत आवश्यक सहायक सामग्री वितरण गरिएको छ भने चार जनालाई प्लास्टर लगाइएको छ।
त्यसैगरी, ३७ जना बालबालिकाको अर्थोपेडिक सहायक सामग्रीका लागि नापजाँच गरिएको छ। उपचारका क्रममा १० जना बालबालिकालाई शल्यक्रियाका लागि मिति निर्धारण गरिएको छ भने तीन जनालाई चिकित्सकीय परामर्शका लागि मिति प्रदान गरिएको छ।
शिविरमार्फत शारीरिक अपाङ्गता भएका बालबालिकाको अवस्था पहिचान गरी आवश्यक उपचार, फिजियोथेरापी, शल्यक्रिया, चिकित्सकीय परामर्श तथा सहायक सामग्रीको व्यवस्थापनका लागि सहजीकरण गरिएको आयोजकले जनाएको छ।
यस्ता शिविरले शारीरिक अपाङ्गता भएका बालबालिकालाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन तथा उनीहरूको उपचार र पुनर्स्थापनामा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *