शिक्षामन्त्रीज्यू, लुम्बिनीबासीको भविष्यमाथि सीमितताको पर्खाल नलगाउनुहोस ?

गैंडहवा न्युज
लुम्बिनी, असोज २२ गते।लुम्बिनी बौद्ध दर्शनको पवित्र उद्गमस्थल मात्र होइन, समग्र लुम्बिनीबासीको साझा पहिचान, इतिहास र उज्ज्वल भविष्यसँग जोडिएको महत्वपूर्ण धरोहर पनि हो।
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई एउटै विषयमा सीमित गर्दै अन्य व्यावहारिक तथा आधुनिक शैक्षिक कार्यक्रम हटाउने प्रयासप्रति लुम्बिनीबासीमा असन्तुष्टि बढेको छ। यस्तो कदम स्थानीय युवाको शैक्षिक आवश्यकता, चाहना र क्षेत्रको समग्र विकासको भावनाविपरीत हुने भन्दै यसको पुनर्विचार गर्न माग गरिएको छ।
बौद्ध दर्शनको प्रवर्द्धन, अध्ययन तथा अनुसन्धान विश्वविद्यालयको महत्वपूर्ण दायित्व हो। यसमा कुनै द्विविधा छैन। तर, बौद्ध दर्शनको नाममा विश्वविद्यालयको शैक्षिक दायरा साँघुरो पारेर स्थानीय विद्यार्थीलाई बहुआयामिक, प्राविधिक, व्यावहारिक तथा आधुनिक शिक्षाबाट वञ्चित गर्नु उचित हुँदैन।
लुम्बिनीका युवाले आफ्नै क्षेत्रमा गुणस्तरीय र विविध विषयमा उच्च शिक्षा हासिल गर्ने अवसर पाउनुपर्छ। विश्वविद्यालयलाई स्थानीय आवश्यकता र बदलिँदो समयअनुसार थप सक्षम र बहुआयामिक बनाउनुको सट्टा यसको दायरा सीमित गर्ने कुनै पनि निर्णयले विद्यार्थी तथा स्थानीय समुदायको भविष्यमा प्रतिकूल असर पार्न सक्छ।
त्यसैले, शिक्षामन्त्रीज्यू, लुम्बिनीबासीको भविष्यलाई सीमितताको पर्खालभित्र नबाँध्नुहोस्। बौद्ध दर्शनको संरक्षण र प्रवर्द्धनसँगै आधुनिक, प्राविधिक तथा व्यावहारिक शिक्षाको विस्तार गर्ने नीति अवलम्बन गरियोस् भन्ने हाम्रो स्पष्ट माग छ।
विश्वविद्यालयको शैक्षिक दायरा संकुचित गर्ने निर्देशनप्रति हाम्रो कडा असहमति र विरोध छ।
।

Leave a Reply

Your email address will not be published. Required fields are marked *