नेपालमा इन्टरनेट मतदानको तयारीतर्फ निर्वाचन आयोग, ICT क्षमता र साइबर सुरक्षामा जोड

काठमाडौं, असोज २० गते। निर्वाचन आयोगको आयोजनामा “इन्टरनेट मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी प्रस्तुतीकरण, प्रविधि प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रममा SMARTEC र Inspiring Lab का विज्ञहरूले इन्टरनेट मतदान प्रविधि, प्रणाली, कार्यप्रक्रिया, साइबर सुरक्षा तथा कार्यान्वयनका विभिन्न पक्षबारे प्रस्तुतीकरण गरेका थिए।
SMARTEC का नेदरल्यान्ड्स, एस्टोनिया, बोस्निया, पानामा तथा बेलायतबाट सहभागी विज्ञहरूले आधुनिक इन्टरनेट मतदान प्रविधिको प्राविधिक संरचना, सुरक्षा, प्रणाली सञ्चालन तथा अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी गराएका थिए। सो अवसरमा SMARTEC ले इन्टरनेट मतदान प्रणालीको प्रत्यक्ष प्राविधिक प्रदर्शन (Demo) समेत गरेको थियो।
प्रदर्शनका क्रममा मतदाता प्रमाणीकरण, मतदान प्रक्रिया, मतको सुरक्षित व्यवस्थापन तथा प्रणाली सञ्चालनका विभिन्न प्राविधिक चरणबारे सहभागीलाई व्यावहारिक जानकारी दिइएको थियो।
Inspiring Lab का प्रतिनिधि सञ्जय खनालले Internet Voting Technology Architecture सम्बन्धी प्रस्तुतीकरण गर्दै यसको प्राविधिक संरचना, प्रणालीगत विशेषता तथा निर्वाचन प्रक्रियामा हुन सक्ने सम्भावित प्रयोगबारे जानकारी गराउनुभयो।
त्यस्तै, निर्वाचन आयोगका उपसचिव अनुप न्यौपानेले आयोगको वर्तमान सूचना तथा सञ्चार प्रविधि (ICT) अवस्थाबारे प्रस्तुतीकरण गर्नुभयो। उहाँले आयोगमा विद्यमान ICT प्रणाली, पूर्वाधार, जनशक्ति तथा आगामी दिनमा आवश्यक पर्ने प्रविधिगत सुदृढीकरणका विषयमा जानकारी प्रस्तुत गर्नुभयो।
कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, राहदानी विभाग, अध्यागमन विभाग, नेपाल प्रहरीलगायत नेपाल सरकारका विभिन्न निकायका २४ भन्दा बढी ICT प्रमुख तथा प्रतिनिधि सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोग आगामी दिनमा इन्टरनेट मतदानको दिशामा अघि बढ्ने बताउनुभयो। उहाँले इन्टरनेट मतदान प्रणाली कार्यान्वयनका लागि आवश्यक प्रविधिगत तयारी, संस्थागत क्षमता विकास, साइबर सुरक्षा तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।
निर्वाचन आयुक्त डा. राजीब सुब्बाले नेपालमा भविष्यमा इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्ने दिशामा अघि बढ्दा निर्वाचन आयोगमा मात्र नभई नेपाल सरकारका विभिन्न निकायमा उपलब्ध ICT ज्ञान, सीप, जनशक्ति तथा प्राविधिक क्षमताको Skill Mapping आवश्यक रहेको बताउनुभयो।
उहाँका अनुसार इन्टरनेट मतदान प्रणाली बहुआयामिक र अन्तरनिकायसँग सम्बन्धित विषय भएकाले डिजिटल पहिचान, मतदाता प्रमाणीकरण, डाटा आदानप्रदान, साइबर सुरक्षा, प्रणाली विकास, पूर्वाधार तथा सञ्चालनलगायत क्षेत्रमा उपलब्ध विशेषज्ञता र सीपको पहिचान गर्न आवश्यक छ।
Skill Mapping ले इन्टरनेट मतदान प्रणाली कार्यान्वयनका क्रममा आवश्यक पर्ने प्राविधिक जनशक्ति, विशेषज्ञता र संस्थागत क्षमताको पहिचान तथा उपयोग गर्न आधार प्रदान गर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा नागरिकको डिजिटल पहिचान, नागरिक दर्ता, सामाजिक सुरक्षा, जनसांख्यिक तथा जनसंख्या व्यवस्थापन, करदाता सूचना, भूमि तथा सम्पत्ति व्यवस्थापन, राहदानी तथा अध्यागमन, यातायात, स्वास्थ्य, शिक्षा, सरकारी वित्तीय व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, नागरिक सेवा तथा सेवा गेटवे, सरकारी वेबसाइट तथा सूचना प्रणाली, भौगोलिक तथा स्थानिक सूचना प्रणाली, कानून कार्यान्वयन तथा सुरक्षा सूचना प्रणाली र निर्वाचन सूचना प्रणाली सञ्चालन गर्ने विभिन्न निकायका प्रतिनिधिहरू सहभागी थिए।
अन्तरक्रियाका क्रममा सहभागी ICT प्रमुखहरूले सम्बन्धित प्रणालीको विद्यमान अवस्था, प्राविधिक जनशक्ति, प्रणालीको अन्तरआबद्धता, डिजिटल पहिचान तथा प्रमाणीकरण, डाटा आदानप्रदान, साइबर सुरक्षा, डाटा संरक्षण तथा संस्थागत प्राविधिक क्षमताका विषयमा आफ्ना अनुभव र सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रमले भविष्यमा इन्टरनेट मतदान प्रणाली विकास तथा कार्यान्वयन गर्दा निर्वाचन आयोगसँग सम्बन्धित अन्य सरकारी सूचना प्रणाली र प्राविधिक क्षमताबीच समन्वय तथा अन्तरआबद्धता आवश्यक हुने विषयमा समेत छलफल गर्ने अवसर प्रदान गरेको थियो।
कार्यक्रममा निर्वाचन आयोगका सचिव कृष्णप्रसाद काप्री, सहसचिवहरू नारायण भट्टराई तथा राजेन्द्रकुमार के.सी. लगायत आयोगका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमले नेपालमा सम्भावित इन्टरनेट मतदान प्रणालीका लागि आवश्यक प्रविधि, दक्ष जनशक्ति, संस्थागत क्षमता, डिजिटल पहिचान, साइबर सुरक्षा, डाटा संरक्षण, प्रणाली अन्तरआबद्धता तथा अन्तरनिकाय समन्वयका विषयमा निर्वाचन आयोग र सम्बन्धित सरकारी निकायबीच संवाद तथा सहकार्यको आधार तयार गरेको आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *