रुकुम घटनाप्रति नेपाली कम्युनिस्ट पार्टी गैडहवा समितिको गम्भीर ध्यानाकर्षण

गैंडहवा न्युज
गैडहवा । रुकुममा प्रहरी कार्यालयभित्रै वडा अध्यक्षमाथि कुटपिट भएको भनिएको घटनाप्रति नेपाली कम्युनिस्ट पार्टी, गैडहवा गाउँपालिका समितिले गम्भीर आपत्ति जनाएको छ।
पार्टीका गैडहवा गाउँपालिका समिति संयोजक क. दान बहादुर घर्तीमगरले घटनाबारे सार्वजनिक भएका समाचारले आफूहरूलाई चिन्तित मात्र नभई आक्रोशितसमेत बनाएको बताउनुभएको छ।
उहाँले कानुन बनाउने र कानुन कार्यान्वयन गर्ने निकायको प्रमुख जिम्मेवारी नै नागरिकको सुरक्षा र कानुनी शासन कायम गर्नु रहेको उल्लेख गर्दै प्रहरी र जनप्रतिनिधिबीच नै विवाद तथा कुटपिटको अवस्था सिर्जना हुनु गम्भीर विषय भएको बताउनुभयो।
“प्रहरी कार्यालयभित्रै वडा अध्यक्षमाथि कुटपिट भएको आरोप गम्भीर छ। यदि आरोप सत्य हो भने यस्तो घटना कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन,” उहाँले भन्नुभयो।
घटनाको निष्पक्ष र तथ्यपरक छानबिन गरी दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याएर कारबाही गर्न पार्टीले माग गरेको छ। साथै पीडितलाई न्याय दिन सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
संयोजक घर्तीमगरले न्याय प्राप्तिका लागि कानुनी प्रक्रियामाथि विश्वास गर्नुपर्नेमा जोड दिँदै हातले न्याय खोज्ने प्रवृत्तिले समाजलाई थप अराजकतातर्फ धकेल्ने चेतावनी दिनुभयो।
“हामीलाई अराजकता होइन, कानुनको राज्य चाहिएको छ। घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय र दोषीलाई कानुनअनुसार कारबाही गरिनुपर्छ,” उहाँले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *