गैंडहवा न्युज
गैंडहवा । बडादसैँको सुखद अवसरमा रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ८ र ९ का १६ भूमिहीन दलित मुसहर परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेपछि गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले खुसी व्यक्त गरेका छन्।
वर्षौँदेखि आफ्नै जग्गाको स्वामित्व प्राप्त गर्ने सपना बोकेर बसेका परिवारको हातमा लालपुर्जा पुग्नु केवल कागज प्राप्त गर्नु मात्र नभई उनीहरूको जीवनमा आशा, आत्मसम्मान, सुरक्षा र नयाँ भविष्यको ढोका खुलेको अध्यक्ष पौडेलले बताएका छन्।
भूमिहीन दलित मुसहर समुदायका नागरिकलाई जग्गाको स्वामित्व दिलाउने अभियानमा गाउँपालिका लामो समयदेखि निरन्तर लागिरहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले दसैँको समयमा लालपुर्जा प्राप्त गर्दा सम्बन्धित परिवारमा छाएको खुसीले आफूलाई पनि उत्तिकै सन्तुष्टि मिलेको बताए।
“उहाँहरूको अनुहारमा देखिएको मन्द मुस्कान र आँखामा झल्किएको खुसीले मेरो मन छोएको छ। नागरिकको जीवनमा वास्तविक परिवर्तन ल्याउन सक्नु नै जनप्रतिनिधिका रूपमा मेरो सबैभन्दा ठूलो उपलब्धि हो,” अध्यक्ष पौडेलले भने।
यस उपलब्धिलाई सम्भव बनाउन निरन्तर पहल, समन्वय र सहयोग गर्ने गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत अनिता वि.क. थारू, कर्मचारी, जिल्ला भूमि सम्बन्धी कार्यालयका प्रमुख मनि प्रसाद रेग्मी तथा कर्मचारी, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने हालसम्मका सम्पूर्ण जनप्रतिनिधिप्रति अध्यक्ष पौडेलले हार्दिक आभार व्यक्त गरेका छन्।
उनले यो उपलब्धि कुनै एक व्यक्तिको प्रयासबाट मात्र सम्भव नभएको उल्लेख गर्दै सबैको साझा प्रतिबद्धता, निरन्तर मेहनत र सहयोगको परिणाम भएको बताए। यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति उनले धन्यवादसमेत व्यक्त गरेका छन्।
वडा नम्बर ८ र ९ का लालपुर्जा प्राप्त गर्ने सम्पूर्ण परिवारलाई बधाई दिँदै अध्यक्ष पौडेलले अझै पनि जग्गाको स्वामित्व प्राप्त गर्न बाँकी रहेका भूमिहीन नागरिकलाई लालपुर्जा उपलब्ध गराउने कार्यमा गाउँपालिकाको प्रयास निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
“यसपालिको दसैँ लालपुर्जा प्राप्त गर्ने परिवारका लागि जीवनकै अविस्मरणीय खुसी बनेको छ। उहाँहरूको घरमा सुख, शान्ति, समृद्धि र खुसी छाओस्। हरेक नागरिकले सम्मानपूर्वक आफ्नो घरमा बस्न पाउने वातावरण निर्माण गर्नु हाम्रो दायित्व हो। नागरिकको आँखामा आँसु होइन, ओठमा मुस्कान देख्न पाऊँ—मेरो चाहना यही हो,” अध्यक्ष पौडेलले भने।
गैडहवा गाउँपालिकाले भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्दै समृद्ध, न्यायपूर्ण र समावेशी समाज निर्माण गर्ने अभियानलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।
दसैँको उल्लासमय वातावरणमा १६ भूमिहीन दलित मुसहर परिवारले लालपुर्जा प्राप्त गर्नु उनीहरूका लागि वर्षौँदेखिको सपना पूरा हुनुका साथै सुरक्षित भविष्यतर्फ अघि बढ्ने महत्वपूर्ण उपलब्धि बनेको छ। यसले भूमिहीन समुदायमा आत्मसम्मान, सामाजिक सुरक्षा र स्थायित्वको आशासमेत जगाएको छ।
दसैँको खुसीसँगै १६ भूमिहीन दलित मुसहर परिवारको हातमा लालपुर्जा पुग्दा अपार खुसी लागेको छ : अध्यक्ष पौडेल

