गैंडहवा न्युज
लुम्बिनी, असोज । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७, बनरहवाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका मोबाइलका पार्ट्स बरामद गरेको छ।
मिति २०८३ असोज २९ गते साँझ ५ बजे इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले बनरहवास्थित धनी नखुलेको टिनको टहरामा लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न कम्पनीका मोबाइलका पार्ट्स बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद गरिएका सामानमा आइफोन, रियलमी, रेडमी, सामसुङ र भिभोलगायत विभिन्न कम्पनीका ४३७ थान मोबाइल डिस्प्ले र ६ थान बडी प्यानल रहेका छन्।
बरामद गरिएका सामानको अनुमानित मूल्य ९ लाख १८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
भन्सार छली गरी ल्याइएका उक्त सामान कसले र कुन प्रयोजनका लागि टहरामा लुकाएर राखेको थियो भन्ने विषयमा थप विवरण भने खुल्न बाँकी छ।
लुम्बिनीमा भन्सार छलीका ९ लाखभन्दा बढीका मोबाइल पार्ट्स बरामद

