गैंडहवा न्युज
१२ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले आगामी हिउँदे अधिवेशनबाट सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक पारित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नेपाल सरकार भाषा आयोग र आदिवासी जनजाति मञ्च नेपालको आयोजनामा बिहीबार बुटवलमा सम्पन्न लुम्बिनी प्रदेश सरकारको कामकाजी भाषा सम्बन्धी छलफल कार्यक्रममा बोल्दै सभामुख घर्तीमगरले आगामी मंसिरबाट सुरु हुने हिउँदे अधिवेशनमा विधेयक पेस गरी फागुनसम्म पारित गर्ने लक्ष्य रहेको बताउनुभयो।
उहाँले भाषा विधेयक पारित गर्न व्यवस्थापिकाको चाहना मात्र पर्याप्त नहुने उल्लेख गर्दै प्रदेश सरकारको सक्रिय सहयोग र चासो आवश्यक रहेको बताउनुभयो।
सरकार र प्रदेश सभाबीच यस विषयमा साझा धारणा रहेकाले विधेयक पेस भएमा पारित हुनेमा शंका नगर्न उहाँले सरोकारवालालाई आश्वस्त पार्नुभयो।
कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङले लुम्बिनी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक पारित गर्न भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्नुभयो।
वर्षौंसम्म पनि विधेयक प्रदेश सभामा पेस हुन नसक्नुले शंका उत्पन्न गरेको उल्लेख गर्दै अहिले छलफल हुँदैमा सरोकारवाला पक्ष खुसी भइहाल्ने अवस्था नरहेको उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश समन्वय परिषद्का अध्यक्ष जीतु तरामुले पनि भाषा विधेयकको आवश्यकता र कार्यान्वयनका विषयमा आफ्नो धारणा राख्नुभएको थियो।
हिउँदे अधिवेशनबाट भाषा विधेयक पारित गर्ने सभामुख घर्तीमगरको प्रतिबद्धता

