लुम्बिनी /वैशाख १३ गते आफ्नै बाबुको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–४ बेलडाँडा निवासी २४ वर्षीय सुनिल थारु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार वैशाख ११ गते दिउँसो करिब २ बजेको समयमा सुनिलले आफ्नै बाबु ५८ वर्षीय जंगबहादुर थारुलाई घरको आँगनमै हातले घाँटी अठ्याई गम्भीर घाइते बनाएका थिए। घटनापछि उनी फरार भएका थिए ।
घाइते जंगबहादुरलाई उपचारका लागि कपिलवस्तुको पिपरा अस्पताल लगिएकोमा सोही दिन दिउँसो करिब ४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि फरार रहेका सुनिल थारुलाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

