ओमसतिया गाउँपालिकाद्वारा ५१ करोड १० लाख भन्दा बढीको बजेट तथा कार्यक्रम प्रस्तुतनीति तथा कार्यक्रम सर्वसम्मत पारित

गैंडहवा न्युज
लुम्बिनी /रुपन्देहीको ओमसतिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड १० लाख ५४ हजार रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ। सोमबार सम्पन्न गाउँपालिकाको १९ औं गाउँसभामा उपाध्यक्ष सुनिता चौधरीले उक्त बजेट सभासमक्ष प्रस्तुत गर्नुभएको हो। सहभागिता, समावेशिता, सामाजिक न्याय, पारदर्शिता, दिगो विकास र सुशासनलाई आधार मानेर तयार गरिएको बजेटले गाउँपालिकाबासीको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने लक्ष्य लिएको उपाध्यक्ष चौधरीले बताउनुभयो।

बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगारी सिर्जना, वातावरण संरक्षण तथा प्रशासनिक सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राखिएको छ।

उपाध्यक्ष चौधरीका अनुसार आगामी आर्थिक वर्षका लागि कुल ५१ करोड १० लाख ५४ हजार रुपैयाँ बराबरको स्रोत व्यवस्थापन अनुमान गरिएको छ। संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड ८७ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ १६ करोड १९ लाख रुपैयाँ र समपूरक अनुदानतर्फ ४० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ८१ लाख ८३ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ १ करोड ५५ लाख रुपैयाँ र समपूरक अनुदानतर्फ ७५ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।

राजस्व बाँडफाँडतर्फ संघीय सरकारबाट ९ करोड ७८ लाख ६२ हजार रुपैयाँ, प्रदेश सरकारबाट ९९ लाख ९ हजार रुपैयाँ तथा स्थानीय राजस्व बाँडफाँडबाट १ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। गाउँपालिकाको आन्तरिक स्रोतबाट ३ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ।

खर्चतर्फ चालु खर्चका लागि ३३ करोड ८९ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको छ भने विकास निर्माण तथा पूँजीगत कार्यक्रमका लागि १७ करोड २१ लाख १९ हजार रुपैयाँ छुट्याइएको छ। गाउँपालिकाले विकास र सेवा प्रवाहबीच सन्तुलन कायम गर्दै बजेट कार्यान्वयन गर्ने नीति लिएको जनाएको छ।

बजेटले गाउँपालिकाको मुख्य प्रशासकीय भवन निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। भवन निर्माण सम्पन्न भएपछि सम्पूर्ण प्रशासनिक सेवा एकीकृत रुपमा सञ्चालन गरी नागरिकलाई सहज र छिटो सेवा उपलब्ध गराउने योजना रहेको उपाध्यक्ष चौधरीले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *