रूपन्देहीका १८ उत्कृष्ट विद्यार्थी ल्यापटपसहित सम्मानित गर्दै

गैंडहवा न्युज
लुम्बिनी , असार २०गते /सामुदायिक विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले रूपन्देही क्षेत्र नम्बर ३ अन्तर्गतका १८ जना विद्यार्थीलाई ल्यापटपसहित सम्मान गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय, रूपन्देहीको आयोजनामा शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा शैक्षिक उपलब्धिका आधारमा छनोट गरिएका विद्यार्थीलाई सम्मान गरिएको हो ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई थप अध्ययनमा उत्प्रेरित गर्नुका साथै प्रविधिमैत्री शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सामाजिक विकास डिभिजन कार्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरूलाई ल्यापटप हस्तान्तरणसँगै सम्मानपत्रसमेत प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले विद्यार्थीको सफलताको प्रमुख आधार उनीहरूको आफ्नै मेहनत, अनुशासन र निरन्तर अभ्यास हुने बताउनु भयो । उहाले सफलतामा करिब ९९ प्रतिशत भूमिका विद्यार्थीको परिश्रमको रहने उल्लेख गर्दै सरकारले गुणस्तरीय शिक्षाका लागि आवश्यक वातावरण निर्माण गर्न निरन्तर प्रयास गरिरहेको बताउनु भयो ।

मन्त्री पाण्डेले विद्यार्थी र अभिभावकलाई सम्बोधन गर्दै आफू पदमा रहे वा नरहे पनि शिक्षा र युवाको विकासका लागि सधैं सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयाृ “मन्त्रीहरू आउँछन्, जान्छन् र एक दिन पूर्वमन्त्री पनि भइन्छ। तर म सधैं तपाईंहरूको परिवारको सदस्यका रूपमा रहन चाहन्छु। मन्त्रालयमा मन्त्रीको भूमिकामा भए पनि तपाईंहरूको बीचमा परिवारकै सदस्यका रूपमा रहनेछु,” उहाले भन्नु भयो ।

उहाले सीमित स्रोतसाधनका बाबजुद सामुदायिक विद्यालयहरूले उत्कृष्ट शैक्षिक नतिजा हासिल गरिरहेको उल्लेख गर्दै शिक्षक, प्रधानाध्यापक तथा विद्यालय कर्मचारीहरूको योगदानको प्रशंसा गर्नु भयो । आगामी दिनमा यस्ता कार्यक्रमलाई शिक्षा, खेलकुद, सीप विकास र सचेतनामूलक गतिविधिसँग जोडेर अझ प्रभावकारी बनाइने उहाको भनाइ थियो ।

सम्मानित विद्यार्थी पूजा विश्वकर्माले प्राप्त ल्यापटपलाई अध्ययन, अनुसन्धान तथा सिकाइलाई थप प्रभावकारी बनाउन प्रयोग गर्ने बताउनु भयो । उहाले यस्तो सम्मानले विद्यार्थीमा थप जिम्मेवारीबोध र उत्कृष्ट नतिजा हासिल गर्ने प्रेरणा मिलेको प्रतिक्रिया दिनु भयो ।

सामाजिक विकास डिभिजन कार्यालय, रूपन्देहीका प्रमुख हरिबहादुर विष्टले प्रत्यक्ष प्रोत्साहनका कार्यक्रमले विद्यार्थीमा सकारात्मक ऊर्जा थप्ने र अझ मेहनत गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने प्रतिभावान विद्यार्थीलाई राज्यबाट प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भयो ।

कार्यक्रममा लीलाराम माध्यमिक विद्यालयका प्रधानाध्यापक रूपकुमार रायमाझीले सामुदायिक विद्यालयका विद्यार्थीलाई गरिएको सम्मानले शैक्षिक प्रतिस्पर्धा बढाउनुका साथै अन्य विद्यार्थीलाई पनि उत्कृष्ट नतिजाका लागि प्रेरित गर्ने धारणा राख्नु भएको थियो । उहाले प्रविधिमैत्री शिक्षाको वर्तमान आवश्यकता पूरा गर्न यस्ता सहयोग उपयोगी हुने बताउनु भयो ।

कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालयका लेखा अधिकृत टोलप्रसाद पोखरेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा शिक्षा तालिम केन्द्रका प्रमुख हिमलाल खनालले शुभकामना मन्तव्य राख्दै विद्यार्थीलाई प्रदान गरिएको सम्मानले अध्ययनप्रतिको लगाव र आत्मविश्वास वृद्धि गर्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन तथा सूचना प्रविधिमार्फत सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजना गरिएको यो कार्यक्रमले सामुदायिक विद्यालयका विद्यार्थीमा नयाँ उत्साह थप्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। यस्ता प्रोत्साहनमूलक कार्यक्रमले विद्यार्थीलाई अध्ययनप्रति थप जिम्मेवार बनाउनुका साथै सामुदायिक विद्यालयप्रति अभिभावक र समाजको विश्वाससमेत बढाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *