गैंडहवा न्युज
लुम्बिनी, असोज २२ गते।रुपन्देहीमा १८ वर्षअघि गोली प्रहार गरी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका–४ निवासी ६८ वर्षीय प्रल्हाद कुर्मी र सोही स्थानका ६० वर्षीय महेन्द्र प्रसाद कुर्मी रहेका छन्।
प्रहरीका अनुसार २०६५ साल मंसिर ६ गते राति करिब १२ः३० बजे साविक धकधई गाविस–८, हाल रोहिणी गाउँपालिका–३, झुङ्गापरासीस्थित हुलाकी सडकखण्डमा ३२ वर्षीय चिनक राजभर भनिने मुनिराम राजभरको हत्या भएको थियो। उनी साविक छिपागढ गाविस–६, हाल रोहिणी गाउँपालिका–४ का बासिन्दा थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार राजभरको हात पछाडि गलबन्दीले बाँधिएको अवस्थामा कन्चटमा गोली प्रहार गरी हत्या गरिएको थियो। घटनापछि संलग्न रहेको आशंका गरिएका व्यक्तिहरू फरार रहेका थिए।
लामो समयदेखि अनुसन्धानको क्रममा रहेको उक्त घटनालाई अघि बढाउँदै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले असोज २१ गते जिल्लाका विभिन्न स्थानबाट दुवै जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई असोज २२ गते रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि सात दिनको म्याद प्राप्त भएको प्रहरीले जनाएको छ।
घटनामा पक्राउ परेका व्यक्तिहरूको संलग्नता, हत्याको कारण तथा अन्य सम्भावित पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
रुपन्देहीमा १८ वर्ष पुरानो हत्या घटनाका दुई आरोपी पक्राउ

