विभिन्न क्रसर उद्योगबाट तार चोरीको आरोपमा कवाड पसल सञ्चालकसहित ५ जना पक्राउ

गैंडहवा न्युज
रुपन्देही, असोज २२ गते।
रुपन्देहीका विभिन्न क्रसर तथा रोडा प्रशोधन उद्योगहरूबाट पटक–पटक तार चोरी भएको घटनामा संलग्न रहेको आरोपमा कवाड पसलका सञ्चालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरीक्षक अनिश बुढाथोकीका अनुसार जिल्लाका विभिन्न उद्योगबाट करिब १० लाख रुपैयाँ बराबरका तार चोरी भएको घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–१८ स्थित सिद्धेश्वरी कामना रोडा उद्योग प्रा.लि. र कालिका रोडा तथा ढुङ्गा प्रशोधन उद्योग, साथै सियारी गाउँपालिका–७ स्थित सिद्धार्थ रोडा प्रशोधन उद्योग एण्ड मिनरल्स सप्लायर्सबाट विभिन्न मितिमा पटक–पटक तार चोरी भएको थियो। उक्त घटनाबारे प्राप्त सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा चोरीमा संलग्न रहेको आरोपमा सियारी गाउँपालिका–७ का २० वर्षीय मनिष मल्लाह, १८ वर्षीय शनिदेव मल्लाह, १८ वर्षीय श्यामलाल केवट र ४० वर्षीय कान्छु भन्ने राजकुमार केवटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, चोरी गरी ल्याइएका तार खरिद गर्ने गरेको आरोपमा सियारी गाउँपालिका–२, दुर्गापथस्थित रिषब कवाड पसलका सञ्चालकसमेत पक्राउ परेका छन्। पक्राउ पर्ने सञ्चालक भारतको मोतिहारी जिल्ला, कल्याणपुर बडरहवा वडा नं. ७ निवासी ३४ वर्षीय मिन्टु जैसवाल रहेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक अनिश बुढाथोकीको कमाण्डमा इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई असोज २१ गते पक्राउ गरेको हो।
पक्राउ परेका पाँचै जनामाथि चोरीसम्बन्धी घटनामा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय छपियाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *