गैंडहवा न्युज
बुटवल — सरकारी कार्यालयमा सेवा प्रवाह सहज, छिटो र झन्झटरहित बनाउने सरकारी प्रतिबद्धतामाथि प्रश्न उठाउँदै बुटवलको मालपोत कार्यालयमा भोग्नुपरेको सास्तीबारे युवा व्यवसायी प्रकाश भुसालले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गरेका छन्।
भुसालका अनुसार जग्गा पास गर्ने प्रक्रियाका लागि उनी आवश्यक कागजातसहित मालपोत कार्यालय पुगेका थिए। कार्यालयमा सेवा प्रवाहमा सुधार भएको होला भन्ने अपेक्षासहित उनले आफैँ फाइल बोकेर प्रक्रिया अघि बढाएका थिए।
पुरानो जग्गा भएकाले अनलाइन इन्ट्री गर्नुपर्ने जानकारी पाएपछि उनी कोठा नम्बर ६ मा पुगे। उनीसँग जग्गाधनी प्रमाणपुर्जा, नागरिकता र जग्गाको श्रेस्ता उपलब्ध थियो। तर, उक्त फाँटका कर्मचारी हार्दिक श्रेष्ठले अनलाइन इन्ट्रीका लागि नापी कार्यालयबाट फिल्ड बुक र प्लट रजिस्टरको उतार ल्याउन आग्रह गरेको भुसालले बताएका छन्।
आफूसँग भएका कागजात स्पष्ट हुँदाहुँदै पनि थप कागजातका लागि नापी कार्यालय जानुपर्ने कारणबारे उनले प्रश्न उठाएका थिए। तर, कर्मचारीले आफ्नो आग्रह नमानेपछि उनी आवश्यक कागजात लिन नापी कार्यालय पुगे।
नापी कार्यालयमा विभिन्न कोठामा धाउनुपरेको उल्लेख गर्दै भुसालले त्यहाँका कर्मचारीसँग उक्त कागजात अनिवार्य हो कि होइन भनेर सोधेका थिए। नापीका कर्मचारीले कित्ता नम्बर नबुझिने, श्रेस्ता च्यातिएको वा अस्पष्ट भएको अवस्थामा मात्रै त्यस्तो कागजात आवश्यक पर्ने जानकारी दिएको उनको भनाइ छ।
आफूसँग रहेको श्रेस्ता स्पष्ट भएकाले उक्त कागजात आवश्यक नपर्ने जानकारी पाएपछि उनी फेरि मालपोत कार्यालय फर्किए। तर, उनले नापीबाट ल्याएको कागजात नहेरी नै कर्मचारीले जग्गाधनी प्रमाणपुर्जा र श्रेस्ता हेरेर अनलाइन इन्ट्री गरिदिएको भुसालले बताएका छन्।
त्यसपछि पनि उनको काम सहजै सम्पन्न भएन। मालपोत कार्यालयको कोठा नम्बर १३ मा पुग्दा कर्मचारी नभेटिएपछि करिब १५ मिनेट कुर्नुपरेको र त्यसपछि कोठा नम्बर ९ मा पुगेपछि मात्रै अनलाइन इन्ट्रीको प्रक्रिया पूरा भएको उनले उल्लेख गरेका छन्।
भुसालका अनुसार अनलाइन इन्ट्रीको काम पूरा हुँदासम्म अपराह्न ४ बजिसकेको थियो। ६ धुर जग्गा पास गर्ने प्रक्रियाका लागि उनी दिनभरि कार्यालयका विभिन्न कोठामा धाउनुपरेको र एउटै कामका लागि झन्डै २० पटक यताउता गर्नुपरेको उनको अनुभव छ।
सेवाग्राहीको प्रश्न : सुधार भएको यही हो?
सरकारी कार्यालयमा अनलाइन प्रणाली लागू गर्नुको मुख्य उद्देश्य सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउनु हो। तर, अनलाइन इन्ट्रीकै लागि सेवाग्राहीले दिनभरि विभिन्न कोठामा धाउनुपर्ने अवस्था कायम रहनु कति उचित हो भन्ने प्रश्न भुसालले उठाएका छन्।
आवश्यक कागजात स्पष्ट हुँदाहुँदै पनि थप कागजात माग्नु, एउटा कोठाबाट अर्को कोठामा पठाउनु र सामान्य कामका लागि समेत लामो समय खर्चिनुपर्ने अवस्थाले सरकारी सेवा प्रवाहमा सुधार भएको अनुभूति गर्न नसकिएको उनको गुनासो छ।
६ धुर जग्गा पास गर्ने प्रक्रियामा अनलाइन इन्ट्री गर्न मात्रै एक दिन खर्चिनुपर्ने अवस्था छ भने मालपोत कार्यालयमा सेवा प्रवाह कति सहज भएको छ? सेवाग्राहीले अनावश्यक झन्झटबाट कहिले मुक्ति पाउने?
यी प्रश्नको जवाफ सम्बन्धित निकायले दिन आवश्यक देखिन्छ। सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगसँगै कर्मचारीको जवाफदेहिता, स्पष्ट कार्यविधि र सेवाग्राहीमैत्री व्यवहार पनि उत्तिकै आवश्यक हुन्छ।
बुटवल मालपोतमा सुधार कहिले हुन्छ? ६ धुर जग्गा पास गर्नै सास्ती, अनलाइन इन्ट्रीमै बित्यो एक दिन

