रन्यौरा प्रहरीको सफलता: सैनामैनाबाट पाँच लाख रुपैयाँ बराबरको अवैध पटका बरामद, चार जना नियन्त्रणमा

गैंडहवा न्युज
लुम्बिनी, असोज २३ गते।रुपन्देहीको सैनामैना नगरपालिका–४, रन्यौराबाट प्रहरीले करिब पाँच लाख रुपैयाँ बराबरका विभिन्न प्रकारका अवैध पटका बरामद गरेको छ। प्रहरीले पटका ओसारपसारमा संलग्न रहेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ।
बिहीबार राति करिब १ बजे इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक प्रल्हाद केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले मुर्गिया–लुम्बिनी सडकखण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा पटका बरामद गरेको हो।
प्रहरीका अनुसार कोटहीमाई गाउँपालिका–५ निवासी २५ वर्षीय धर्मराज यादवले चलाएको बा २१ च २२४९ नम्बरको पिकअप जिप शंकास्पद लागेपछि जाँच गर्दा नौवटा बोरामा प्याक गरिएका विभिन्न प्रकारका पटका फेला परेका थिए।
प्रहरीले पिकअप जिप, बरामद गरिएका पटका र जिपमा सवार चारै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाएको जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमा: १. धर्मराज यादव, २५ वर्ष, कोटहीमाई गाउँपालिका–५ (चालक)
२. सुशील यादव, १८ वर्ष, कोटहीमाई गाउँपालिका–५
३. अक्लेश मौर्या, ३२ वर्ष, सम्मरीमाई गाउँपालिका–७
४. सन्तोष कुर्मी, १९ वर्ष, सम्मरीमाई गाउँपालिका–७
बरामद गरिएका नौवटा बोरामा रहेका विभिन्न प्रकारका पटकाको अनुमानित मूल्य करिब पाँच लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक जनकबहादुर शाहीको निर्देशनअनुसार चाडपर्व लक्षित सुरक्षा योजना लागू गरी प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक प्रल्हाद केसीले जानकारी दिनुभयो।
चाडपर्वका समयमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले निगरानी तथा चेकजाँचलाई तीव्र बनाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *