कृष्णनगरमा बिलबिजक भएको चामल नियन्त्रणमा लिएपछि विवाद: व्यवसायीद्वारा आगो लगाउने प्रयास

गैंडहवा न्युज
कपिलवस्तु,असोज २८ गते /कपिलवस्तुको कृष्णनगरमा वैध बिलबिजक भएको पसलबाट प्रहरीले चामल नियन्त्रणमा लिएपछि उत्पन्न विवादले उग्र रूप लिएको छ। प्रहरीले नियन्त्रणमा लिएको चामल छुटाउन १० लाख रुपैयाँ धरौटी तिर्नुपर्ने भएपछि निराश बनेका चामल व्यवसायी महेश अग्रहरीले आफैंमाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका छन्। लुम्बिनी प्रदेश प्रहरीले पसलबाट ६४ बोरा चामल नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाएको थियो। यद्यपि, आफूहरूसँग वैध बिलबिजक हुँदाहुँदै पनि प्रहरीले विनाकारण चामल नियन्त्रणमा लिएको भन्दै स्थानीय व्यवसायीहरूले तीव्र असन्तुष्टि व्यक्त गर्दै आएका थिए। भन्सार कार्यालयमा चामल छुटाउने क्रममा अत्यधिक धरौटी रकम माग भएपछि व्यवसायी अग्रहरीले आक्रोशित हुँदै यो कदम उठाएको बुझिएको छ। आत्मदाहको प्रयासबाट गम्भीर घाइते भएका अग्रहरीलाई स्थानीयस्तरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ।
घटनाकृष्णनगर क्षेत्रमा चर्चाको विषय बनेको छ भने स्थानीय व्यवसायीहरूले प्रहरी प्रशासनको कार्यशैलीप्रति रोष प्रकट गर्दै छानबिनको माग गरेका छन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *