कपिलवस्तुको मन्दिरबाट घण्टी चोरी गरेको आरोपमा दुई जना पक्राउ, ३५ थान घण्टी बरामद

कपिलवस्तु, असोज । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२, नौडिहवास्थित दुर्गा मन्दिरबाट घण्टी चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले चोरीमा संलग्न रहेको आरोप लागेका एक युवक र चोरीका घण्टी खरिद गरेको आरोप लागेका भाँडा पसल सञ्चालकलाई ३५ थान घण्टीसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार २०८३ असोज २६ गते दुर्गा मन्दिरबाट घण्टी चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा शुद्धोधन गाउँपालिका–१, बकुली निवासी १८ वर्षीय ईबरार अहमद मुसलमानलाई नियन्त्रणमा लिइएको थियो।
प्रहरीले उनीसँग सोधपुछ तथा अनुसन्धान गर्दा चोरी गरिएका घण्टी शुद्धोधन गाउँपालिका–३, लबनी चोकस्थित ऋषि भाँडा पसलमा बिक्री गरेको खुलेको जनाएको छ। उक्त पसल ४१ वर्षीय दिनेश कुमार कान्दुले सञ्चालन गर्दै आएका छन्।
त्यसपछि प्रहरीले पसलमा खानतलासी गर्दा चोरीका भनिएका ३५ थान घण्टी बरामद गरेको जनाएको छ।
प्रहरीले चोरीमा संलग्न रहेको आरोप लागेका मुसलमान र चोरीका सामान खरिद गरेको आरोप लागेका पसल सञ्चालक कान्दुलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *