गैंडहवा न्युज | रुपन्देही
रुपन्देहीको शुद्धोदन गाउँपालिका–५ को आयोजनामा महिलाहरूको आर्थिक सशक्तीकरण तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले सातदिने ‘सेल्फ मेकअप’ तालिम बिहीबारदेखि सुरु भएको छ।
शुद्धोदन गाउँपालिका–५ का वडा अध्यक्ष चन्द्रभान चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो। कार्यक्रममा गाउँपालिका–४ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता केशवप्रसाद अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो।
तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष बस्यालले महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले महिलाको क्षमता विकास र आर्थिक सशक्तीकरणका लागि उपलब्ध सीप सिक्ने अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो।
त्यसैगरी, गाउँपालिका–४ का वडा अध्यक्ष तथा प्रवक्ता अधिकारीले यस्ता तालिमले महिलाको व्यक्तित्व विकाससँगै आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुर्याउने बताउनुभयो। तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्न सके भविष्यमा आयआर्जनको माध्यम बनाउन सकिने उहाँको भनाइ थियो।
वडा अध्यक्ष चन्द्रभान चौधरीले महिलालाई दैनिक जीवनमा आवश्यक पर्ने मेकअपसम्बन्धी सीप प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपको सदुपयोग गर्दै महिलाहरूले आफ्नो व्यक्तित्व विकाससँगै व्यावसायिक क्षेत्रमा समेत अघि बढ्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा सदस्य भीमबहादुर छाहारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने वडा सचिव होमबहादुर चौधरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
सात दिनसम्म सञ्चालन हुने तालिमले महिलाहरूको सीप विकास, आत्मविश्वास अभिवृद्धि तथा सम्भावित आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
शुद्धोदन–५ मा महिलाका लागि सातदिने सेल्फ मेकअप तालिम सुरु

