दीपक जैसवाल लुम्बिनी
बुद्ध जन्मस्थल लुम्बिनीमा साढे पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेका विद्युतीय बसहरू अन्ततः सञ्चालनमा आएका छन । लुम्बिनी विकास कोषका सदस्य सचिव इन्जिनियर दीपक श्रेष्ठका अनुसार बुधबारदेखि एउटा बस औपचारिक रूपमा सञ्चालन गरिएको हो ।
उहाका अनुसार भारतीय सीमा नाकाबाट लुम्बिनी आउने पर्यटकलाई लक्षित गर्दै पहिलो चरणमा एउटा बस चलाइएको छ भने अर्को बस पनि ब्याट्री परिवर्तनपछि छिट्टै सञ्चालनमा ल्याइने तयारी भइरहेको छ ।
एसियाली विकास बैंकले करिब साढे पाँच वर्षअघि ५ वटा विद्युतीय बस र १४ वटा भ्यान उपलब्ध गराए पनि लामो समयसम्म ती साधन प्रयोगविहीन अवस्थामा राखिएका थिए । करिब २१ करोड रुपैयाँ बराबरको ती सवारी साधन सञ्चालन नगरी छाडिँदा विकास कोष र सरकारको व्यापक आलोचना हुँदै आएको थियो ।
यसैबीच, नेपाल नागरिक उड्डयन प्राधिकरण ले ती बसहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा सार्ने तयारी गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले चासो देखाएको थियो । सोही कार्यालयबाट सोमबार तत्काल बस सञ्चालन गर्न मौखिक निर्देशन आएपछि बुधबारदेखि सेवा सुरु गरिएको हो ।
हाल बस सञ्चालनका लागि जनशक्ति अभाव देखिएको छ । विकास कोषसँग साना गाडीका लागि दुई जना चालक मात्र रहेको र बसका लागि आवश्यक दक्ष चालक अभाव हुँदा अस्थायी रूपमा एक जनाले जिम्मेवारी सम्हालिरहेका छन । दीर्घकालीन रूपमा चालक र सहचालक नियुक्ति गर्नुपर्ने कोषले जनाएको छ ।
त्यस्तै, हालको अवस्थामा यात्रुबाट भाडा उठाउन कानुनी जटिलता रहेको छ। नेपालमा पर्यटक सवारीका लागि हरियो नम्बर प्लेट अनिवार्य भए पनि त्यस्ता गाडी सार्वजनिक रुटमा चलाउँदा भाडा लिन नपाइने व्यवस्था छ । त्यसैले प्रारम्भिक चरणमा स्वैच्छिक सहयोग (डोनेसन बक्स वा क्यूआर कोड) मार्फत सेवा सञ्चालन गरिने र पछि कार्यविधि बनाएर व्यवस्थित ढंगले सञ्चालन गरिने योजना रहेको छ ।
एडिबीको सहयोगमा उपलब्ध गराइएका यी बसहरू वातानुकूलित, अपाङ्गतामैत्री, स्वचालित ढोका र कार्ड भुक्तानी प्रणालीसहित १९ सिट क्षमताका छन् भने भ्यानहरू पाँच सिट क्षमताका छन्। तर, लामो समयसम्म खुला आकाशमुनि राख्दा बसहरूमा क्षति पुगेको छ ।
भने केही भ्यान मर्मतयोग्य अवस्थाबाट समेत बाहिर पुगेका छन ।
लुम्बिनीको पर्यटन प्रवद्र्धन र वातावरणीय संरक्षणका लागि ल्याइएका यी विद्युतीय सवारी साधन अन्ततः सञ्चालनमा आउनु सकारात्मक भए पनि ढिलाइका कारण राज्यको स्रोत र अवसर दुवै खेर गएको भन्दै आलोचना भने अझै कायम छ ।

