दोस्रो आर्थिक गणना सुरु हुँदै, तयारी अन्तिम चरणमा

facebook sharing button
twitter sharing button
email sharing button
sms sharing button
sharethis sharing button

काठमाण्डौ,चैत २९

दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर गणक तथा आवश्यक सुरपरीवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ । आउँदो वैशाख २ गते बुधबारदेखि देशभर आर्थिक गणनाको काम शुरू हुँदैछ । कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आउँदो असार महिनाको पहिलो हप्ताभित्र सम्पन्न हुनेछ । गणनाका लागि झण्डै पाँच हजार जनशक्ति परिचालित भएका छन् ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दोस्रो आर्थिक गणनामा सक्रिय सहभागिता जनाउन सबै उद्योग प्रतिष्ठान, उद्योगी व्यवसाय तथा सरोकार भएकाहरूलाई आग्रह गर्नुभएको छ । उहाँले देशको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलनको महत्वपूर्ण कार्यमा योगदान गर्न अनुरोध गर्नुभएको छ ।

गणनामा आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन हुनेछ । गणनाबाट उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाह सम्बन्धी विवरण सङ्कलनको उद्देश्य राखिएको छ ।

देशभर रहेका दर्ता भए, नभएका ठूला साना, व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिने छ । त्यस्तै, उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल लगायतको गणना गरिने छ । आर्थिक गणना राष्ट्रिय अभियान भएकाले यसमा सबैको सक्रिय सहभागिता जरुरी रहेको तथ्याङ्क कार्यालयले स्पष्ट पारेको छ । यसअघि २०७५ सालमा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेका विवरण सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *