लुम्बिनी नलकूप जल उपभोक्ता क्षेत्रीय समिति मानपकडीको ३५औँ वार्षिक साधारणसभा सम्पन्नसिँचाइ प्रणालीको दिगो व्यवस्थापन, पारदर्शिता र किसानको सक्रिय सहभागितामा जोड गर्दै

लुम्बिनी ,साउन २ गते /लुम्बिनी नलकूप जल उपभोक्ता संघ क्षेत्रीय समिति मानपकडी, रुपन्देहीको ३५औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा सिँचाइ प्रणालीको दिगो व्यवस्थापन, संस्थागत सुदृढीकरण तथा किसानमुखी सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको छ । समितिका अध्यक्ष नवलराज शर्मा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी नलकूप जल उपभोक्ता संघ मूल समितिका उपाध्यक्ष चन्द्रदत्त पौडेल प्रमुख अतिथि रहनुभएको थियो ।

प्रमुख अतिथि पौडेलले सिँचाइ प्रणालीको प्रभावकारी सञ्चालनका लागि जल उपभोक्ताबीच एकता, पारदर्शिता र जिम्मेवारीबोध अपरिहार्य रहेको बताउनुभयो । उहाँले समयमै नलकूपको मर्मत–सम्भार, उपभोक्ताको सक्रिय सहभागिता तथा संस्थागत सुदृढीकरणमार्फत सिँचाइ सेवाको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिनुभयो । कृषिको उत्पादन वृद्धि र किसानको आयआर्जनसँग सिँचाइ प्रणाली प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै यसको संरक्षण र दिगोपन सबैको साझा जिम्मेवारी भएको उहाँको भनाइ थियो ।

अध्यक्ष नवलराज शर्मा भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रम, सिँचाइ सेवा सञ्चालनको अवस्था, संस्थाले हासिल गरेका उपलब्धि तथा आगामी कार्ययोजनाबारे जानकारी गराउनुभयो । उहाँले संस्थालाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै किसानलाई गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व कृषि अधिकृत चन्द्रबहादुर जिसीले शुभकामना मन्तव्य व्यक्त गर्दै उपलब्ध सिँचाइ सुविधाको अधिकतम उपयोग गरी कृषि उत्पादन वृद्धि गर्न किसानलाई आग्रह गर्नुभयो ।

संस्थाका क्षेत्रीय प्रतिनिधि रेसमलाल उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा व्यवस्थापन क्षेत्रीय सचिव रमेशचन्द्र मिश्रले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जल उपभोक्ता सदस्य जितबहादुर चौधरीले गर्नुभएको थियो ।

साधारणसभामा संस्थाको वार्षिक प्रगति, सिँचाइ सेवा सञ्चालनको वर्तमान अवस्था तथा आगामी कार्ययोजनामाथि सहभागीहरूले विस्तृत छलफल गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *